टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनलाई इटलीको रोममा सम्पन्न जी२० शिखर सम्मेलनमा हिँड्न अप्ठ्यारो परेको देखिएपछि स्वास्थ्यका विषयमा विभिन्न अनुमान गरिएको छ ।
उनी हिँड्ने क्रममा लर्बराएका थिए अनि कोप२६ सम्मेलनमा सहभागी भएनन् ।
अझ उनको मृत्यु भइसकेको हल्ला समेत चलेको थियो ।
तीसजनालाई एर्दोआनका विषयमा गलत सूचना फैलाएको आरोपमा अनुसन्धान चलिरहेको छ । ह्याशट्याग ओल्मस जसलाई मृत्यु भएको भनी हल्ला गरिएको भनी अनुवाद गर्न मिल्छ, त्यो ह्याशट्याग राखेर ट्वीट लेखिएको थियो ।
तर राष्ट्रपतिका साझेदारहरूले उनको स्वास्थ्यमा कुनै समस्या नरहेको बताएका छन् । उनी बुधवार राजधानी अंकारामा आयोजित समारोहमा स्वस्थ देखिएको भिडियो सार्वजनिक भएको छ ।
टर्कीमा गलत सूचनाविरुद्धको कानून अघिल्लो महिनादेखि मात्र लागू गरिएको हो । गलत सूचना फैलाउनेहरूलाई पाँच वर्षसम्मको कैद सजायको व्यवस्था छ । यसले अभिव्यक्ति स्वतन्त्रता रोक्न सक्ने आशंका अभियन्ताहरूले गरेका छन् ।
राष्ट्रपतिलाई अपमान गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पनि अनुसन्धान गरिँदैछ । यसको सजाय चार वर्ष कैद हुन सक्छ ।