
ताइवानको प्रातास टापुसमूहमा सन् २०२४ पछि आक्रमण गर्ने कि नगर्ने विषयमा चीनमा आन्तरिक छलफल चलिरहेको ताइवानका एक शीर्ष सुरक्षा अधिकारीले दाबी गरेका छन् ।
नेसनल सेक्युरिटी ब्युरोका महानिर्देशक चन मिङ–तोङले यस्तो कदमका बारेमा कसरी थाहा पाए भनी खुलाएनन् ।
ताइवानमाथि चीनले आक्रमण गर्ने सम्भावना निरन्तर बढिरहेको छ । चीनले ताइवानलाई आफ्नै भूभाग मान्ने गरेको छ र आवश्यक परेमा बलप्रयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।
चीनको वायुसेनाले विगत एक वर्षदेखि लगातार एयर डिफेन्स जोनमा प्रवेश गरिरहेको गुनासो ताइवानले गर्दै आएको छ ।
दक्षिणी ताइवान र हङकङको बीचमा रहेको प्रातास टापुसमूहलाई सुरक्षाविद्हरूले चीनको आक्रमणको जोखिममा रहेको क्षेत्र मान्ने गरेका छन् । त्यो क्षेत्र मुख्यभूमि ताइवानबाट २५० माइल पर छ ।