०४ असार २०८३, बिहीबार

नेपाल संवत् सम्पूर्ण नेपालीको मौलिक संवत् हो : ऊर्जामन्त्री भुसाल

कात्तिक १९, २०७८
नेपाल संवत् सम्पूर्ण नेपालीको मौलिक संवत् हो : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल संवत् सम्पूर्ण नेपालीको मौलिक संवत् भएको बताएकी छन् ।

शंखधर साख्वाले न्याय, समानता र भातृत्वमा आधारित आन्दोलन शुरू गरेको बताउँदै मन्त्री भुसालले गणतन्त्र स्थापना भएपछिको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा निर्णय गरेको जानकारी दिइन् ।

नेपाल संवत् ११४२ का अवसरमा गोदावरी नगरपालिका–१४ द्वारा शुक्रवार आयोजित शुभकामना आदानप्रदान तथा र्‍यालीलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्, ‘प्रचण्ड नेतृत्वको पहिलो सरकारको क्याबिनेटबाट नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको थियो, त्यतिखेर म सामान्य प्रशासनमन्त्री थिएँ ।’

यस्ता अधिकार प्रतिगमनकारीले खोस्न सक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिँदै उनले प्रतिगमनको विपक्षमा अग्रगमनको पक्षमा निरन्तर लाग्न जनतासमक्ष अपिल गरिन् ।

संघीयताले देश टुक्राउँछ भन्ने राजनीतिक सोच राख्ने राजनीतिक दलका कारण पनि नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा देशभर कार्यान्वन गर्न नसकिएको स्मरण गर्दै उनले भनिन्, ‘पहिचान सहितको संघीयता कार्यान्वयनका लागि निरन्तर संघर्ष आवश्यक छ ।’

आफू निरन्तर जनताको पक्षमा रहेको भन्दै उनले जनताको चाहना बाहिर गएर कुनै पनि निर्णय नगर्ने स्पष्ट पारिन् ।

कार्यक्रममा गोदावरी नगरमालिका प्रमुख गजेन्द्र महर्जनले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा देशभर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिँदै त्यसका लागि आमनागरिक एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्