
नेकपा माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।
नेकपा माओवादी केन्द्रको मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११–१३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीको सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
बैठकले ५ दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए । बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभई र संशोधन तथा परिमार्जन नभई अगाडि नबढाउने कुरा भएको पनि उनले बताए ।
उनले भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमति कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडि नबढाउने भन्ने कुरा भा’छ । एमसीसीका कतिपय कुराहरू आपत्तिजनक छन् । केही कुरा परिमार्जन नभइकन र राष्ट्रिय सहमति, सबै दलको सहमत नभइकन अगाडि बढ्दैन ।’
माओवादी केन्द्र न्यायालय भित्रको विवाद न्यायालय आफैंले टुंग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराले बताए । उनले भने, ‘न्यायालयभित्र जुन अहिले धेरै तीव्र विवाद उठिराखेको छ, न्यायालय एउटा स्वतन्त्र संस्था हो । त्यस विषयमा अहिले हामी केही बोल्दैनौं । न्यायालय आफैंले टुंग्याओस् भन्नेमा छौं ।’
माओवादी केन्द्रका प्रवक्ता महराले ५ दलीय गठबन्धन समन्वय समिति सरकारलाई सहयोग गर्न र संविधानलाई ट्रयाकमा डोर्याउनका निम्ति आवश्यक रहेको उल्लेख गरे । समितिले ५ दलीय गठबन्धनलाई सुदृढ गर्ने उनले बताए ।