
युरोपेली मुलुकहरू बेलारुस र पोल्यान्डको सीमामा अवैध आप्रवासीहरू भेला भएपछि दुई देशबीच युद्धको जस्तो स्थितिमा तनाव चर्केको छ ।
युरोपमा शरण लिन खोजेका हजारौं मानिस पोल्यान्डमा प्रवेश पाउने आशामा त्यहाँ भेला भएका हुन् ।
पोल्यान्डका सुरक्षाबलहरूले शरणार्थीहरूमाथि अश्रूग्यास प्रहार गरेका छन् र शरणार्थी शिविर नजिक सैन्य उपकरण तैनाथ गरेका छन् । उक्त क्षेत्रमा गोली चलेको आवाज सुनिएको बेलारुसको सीमा समितिले जनाएको छ ।
शरणार्थीविरुद्ध प्रयोग गर्न खोजिएको हतियार लुकाउनका लागि पोल्यान्डमा रहेको कुजनिका चेकपोइन्ट बन्द गरिएको दाबी छ ।
पोल्यान्डको पोडलास्की क्षेत्रको सीमा समितिकी प्रवक्ता काटारिना जदानोविचले बेलारुसी भूमिमा गोली चलेको आवाज पोल्यान्डका सीमारक्षकहरूले सुनेको बताइन् । आप्रवासी संकट आएपछि बेलारुसले सैन्यबलहरू तैनाथ गरेको उनको कथन छ ।
‘हामीहरू हवाई निगरानी गरिरहेका छौं । त्यहाँ हामीले सैनिकहरू देख्यौं । उनीहरू डफ्फा गरी आएका छन्,’ जदानोविचले पत्रकारहरूलाई बताइन् ।
एसिया र अफ्रिकाका शरणार्थीहरू ठूलो संख्यामा पोल्यान्ड सीममा आइपुगेका छन् । बेलारुस र पोल्यान्ड सीमामा परिस्थिति तनावग्रस्त छ ।
पोल्यान्डका सुरक्षाबलहरूले शरणार्थीहरूलाई प्रवेश गर्न नदिन छेकबार लगाएका छन् । शरणार्थीहरूले उक्त छेकबार भत्काउन खोजेका छन् ।