
विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्डप्रणाम यात्रा गरेका छन् ।
मंगलवारदेखि व्रत बसेका मेयर पराजुलीले यस वर्षको छठमा घर्संदै यात्रा गरेका हुन् ।
सडकमा दण्डप्रणाम गर्दै पराजुलीले यात्रा गरेको यसपालि १८औं पटक हो । उनले व्रत बसेको २० वर्ष भएको छ ।
विराटनगर महानगरपालिका–३ ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा राखिएको पूजास्थलसम्म झण्डै साढे ३ किलोमिटर दण्डप्रणाम गर्दै यात्रा गर्ने गरेको उनले बताए ।
गत वर्ष ५ घण्टा लगाएर यात्रा गरेको मेयर पराजुलीले बताए । पराजुलीसँगै भतिज प्रमेशले पनि दण्डप्रणाम यात्रा गरेका छन् । प्रमेशले ६ वर्षदेखि निरन्तर काकासँगै दण्डप्रणाम गर्ने गरेका छन् ।

कोरोना भाइरस संक्रमणको महामारीबाट संसारलाई मुक्त गराउन यात्रा गरेको मेयर पराजुलीले बताए । ‘लोककल्याण र शान्तिको कामना गर्दै मैले दण्ड प्रणाम यात्रा गरेको हुँ,’ उनले भने, ‘यस पटक मेरो अन्तिम यात्रा हो ।’
मेयरमा निर्वाचित भएपछि ३ वर्षयता नगरवासीको सुख, शान्तिको कामना गर्दै छठको कष्टपूर्ण व्रत बसेको मेयर भीम पराजुलीले बताए । हरेक वर्ष आफूले गर्दै आएको धार्मिक कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको पराजुलीले बताए ।