
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउने निर्वाचनमा नेकपा एमालेको पत्तासाप गर्ने दाबी गरेका छन् ।
बुधवार डडेल्धुरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डडेल्धुरामा नेकपा एकीकृत समाजवादी अब ‘इन’ भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको निर्वाचनमा केपी ओली नेतृत्वको नेकपा एमालेको पत्तासाप हुने दाबी समेत गरेका हुन् ।
‘विचार र आदर्श, लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्न, समृद्ध देशको लागि र समतामूलक तथा भेदभावरहित समाज निर्माणको लागि नेकपा एमाले बनाएका थियौं तर एमाले केपीको मुठीमा गयो । हामीले घर ठानेको थियौं, त्यो त जेल पो भएछ । जेल भएपछि विद्रोह गर्यौं । हामीले जेलको पर्खाल तोडिएका छौं, नयाँ पार्टी ल्यायौं,’ उनले अगाडि भने, ‘अहिले ५ दलको गठबन्धन छ । गठबन्धनबीच सहमति भएको छ, आउने चुनावमा सँगै जाने । केपी गुटको पत्तासाफ गर्नेछौं । त्यहाँ गएकाहरू पछुतो मानिरहेका छन् । उम्कने बाटो खोजिरहेका छन् । अब हामी अगाडि बढिसकेका छौं, आउनुहोस् मिलेर जाऊँ । जीत सत्य र न्यायको हुन्छ । एमाले अब टर्च बालेर हेर्ने दिन आउने छ ।’
अध्यक्ष नेपालले नेकपा एमाले जनहित विपरीत गएकाले त्यो पार्टीको कामै नभएको समेत टिप्पणी गरे ।
उनले भने, ‘सूर्य चिह्नको कुरा नगर्नुस् । सूर्य चिह्न ल्याउने मै हुँ । लड्ने मान्छे मै हुँ निर्वाचन आयोगमा गएर तर के गर्नु त्यही सूर्य चिह्नमा आज ग्रहण लागेको छ । अब कलम चिह्न लिएर उभिएका छौं । कलम चिह्न लिएर हामी मेचीदेखि महाकाली अभियानमा उत्रिएका छौं । कलम चिह्न लिएर जनता माझमा जानेछौं । न्यायको लागि कलम नै सही । न्यायको पक्षमा प्रेरित गर्ने । अब यो पार्टीलाई गाउँगाउँ पुर्याउनुस् ।’
अध्यक्ष नेपालकै उपस्थितिमा भएको कार्यक्रममा नेकपा एमाले डडेल्धुराका तत्कालीन अध्यक्ष डा. तारा जोशीको सिंगो टीम समाजवादीमा समाहित भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले एमाले अध्यक्ष ओलीमा निरंकुशता हाबी भएको र जनभावना विपरीत गएको बताउँदै आफूहरू समाजवादीमा समाहित भएको बताए । उनले ५१ सदस्यीय जिल्ला कमिटीको पदाधिकारीसहित दुईतिहाइ सदस्य समाजवादीमा समाहित भएको घोषणा गरे । भातृ संगठन प्रमुखको टीम समेत समाजवादीमा समाहित भएको जोशीले बताए ।