
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतमा व्याप्त भ्रष्टाचार र विकृतिको संरक्षक बनेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरिएको बताएका छन् ।
बिहीवार बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले आजसम्म जबराको राजीनामा माग गरिएकोमा अब जबरालाई पदच्युत गर्नुपर्ने बताए ।
‘अदालतमा भ्रष्टाचार व्याप्त छ, त्यसको संरक्षण प्रधानन्यायाधीश गरिरहेको छ । विसंगति व्याप्त छ, त्यसको संरक्षण उसैले गरेको छ । विकृति व्याप्त छ, त्यसको संरक्षण चोलेन्द्रले गरिरहेको छ, त्यसैले राजीनामा दे भनेका छौं, अब राजीनामाले पुग्दैन पदच्युत गरौं,’ श्रेष्ठले भने । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बारले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको थियो ।
धर्नापछि सर्वोच्च परिसरमा विरोधसभा गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपका क्रममा बार महासचिव लीलामणि पौडेलसहित केही वकिल घाइते भएका छन् ।
बार अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको नेतृत्वमा प्रहरी हस्तक्षेप गराएर आफ्ना साथीहरूलाई घाइते बनाएको आरोप लगाए ।
प्रहरी हस्तक्षेपको विरोधमा बारले भोलि बेञ्च बहिस्कारका लागि आह्वान गरेको छ ।