
नेकपा (एमाले) रूपन्देहीमा महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै देखिएका छन् ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि बिहान ९ बजेदेखि उम्मेदवारी मनोनयन प्रक्रिया भइरहेको छ ।
शनिवार एमाले रूपन्देहीले एकसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । आउँदो मंसिर १० गतेदेखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ । करीब १७ हजार बढी संगठित सदस्य रहेको रूपन्देहीमा ३३ जनाले प्रतिनिधि छनोट हुनेछन् । तर, आकांक्षी १५० भन्दा बढी रहेको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले लोकान्तरलाई जानकारी दिए । क्षेत्र नम्बर २ मा मात्रै ५२ जनाले मनोनयन दर्ता गराइसकेका छन् ।
रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा २ महिला सहित ६ जनाले प्रतिनिधित्व गर्न पाउनेमा प्रदेश सांसदसहित २५ जना आकांक्षी छन् । ८ जना खुला र ३ जना महिला प्रतिनिधि क्षेत्र नम्बर ३ मा ३५ भन्दा बढी आकांक्षी छन् ।
त्यसै गरी ४ जना खुला र २ जना महिला प्रतिनिधि पाउने क्षेत्र नं ३ मा १२ भन्दा बढी आकांक्षी रहेका छन् । सबैभन्दा कम प्रतिनिधि हुने रूपन्देहीको क्षेत्र नं ४ मा ८ जना आकांक्षी रहेका छन् ।
४ जना खुल्ला र २ जना महिला प्रतिनिधि छनौट हुने क्षेत्र नं ५ मा ३२ जनाले आकांक्षा व्यक्त गरेका छन् ।
रूपन्देही एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, अर्का उपमहासचिव तथा पूर्वमन्त्री घनश्याम भुसाल र पूर्वमन्त्री छविलाल विश्वकर्माको गृहजिल्ला पनि हो ।