१८ असार २०८३, बिहीबार

प्रधानसेनापति स्वदेश फिर्ता

कात्तिक २६, २०७८
प्रधानसेनापति स्वदेश फिर्ता

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फिर्ता भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा कात्तिक २३ गते ४ दिने भ्रमणको सिलसिलामा भारत भ्रमणमा गएका थिए ।

भारत भ्रमणको क्रममा शर्मालाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए ।
 
यसैगरी शर्माले स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, रक्षा सचिव अजय कुमारलगायतसँग भेटघाट गरेका थिए । यस्तै त्यसैगरी उनले रक्षा मन्त्री राजनाथ सिंह, माननीय विदेश मन्त्री डा एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

सोही अवसरमा प्रधान सेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरीक्षण भ्रमण समेत गरेका थिए । उनलाई उक्त कलेजमा सम्मानित गरीएको थियो ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका सेनाका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध सुदृढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

स्वदेश फर्किँदा प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्य एयर बेशमा स्वागत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्