२९ जेठ २०८३, शुक्रबार

कांग्रेसका गुटभित्र उथलपुथल !

कात्तिक २७, २०७८
कांग्रेसका गुटभित्र उथलपुथल !

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा ‘परम्परागत’ गुटभित्रै खटपट शुरू भएको छ ।

सभापति शेरबहादुर देउवाका अत्यन्तै निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए ।

संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान सिंह पनि गुटबाट अघोषित रूपमा अलग भएका छन् । 

पौडेल समूहले सभापतिमा साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेका बेला सिंह अलग भएका हुन् । शुक्रवार पौडेल पक्षको गुटको भेलामा सिंह गएनन् । त्यसो त पौडेल र सिंहबीच पछिल्लो समय टेलिफोन वार्ता पनि नभएको सिंह निकट एक नेताले बताए । सिंह व्यक्तिगत काम विशेषले काठमाडौं बाहिर रहेको उनी निकट नेताहरूको भनाइ छ । 

१० वटा निर्वाचन क्षेत्र तथा संघीय राजधानी भएको काठमाडौंबाट आफू निकटले मन्त्री नपाएपछि नेता सिंह पौडेलसँग असन्तुष्ट बनेका हुन् । मन्त्रिपरिषद् विस्तारमा सिंह पक्षलाई मन्त्रीमा सिफारिस गर्ने विषयमा पौडेल समूहमा छलफल समेत नभएको नेताहरू बताउँछन् । त्यतिबेला, पौडेल निकट दिलेन्द्र बडू कानूनमन्त्री बने भने शशांक कोइराला निकट मीनेन्द्र रिजाल रक्षामन्त्री बने ।  

काठमाडौंमा कांग्रेसको राम्रो प्रभाव भएको हुँदा कम्तीमा १ जना मन्त्री आफ्नो भागमा आउने विश्वास सिंहमा थियो । पौडेल र कोइराला मिलेर आफ्नो भाग नदिएको उनले आरोप लगाएका छन् । 

मुख्य विवाद यहीँबाट शुरू भएको नेताहरू बताउँछन् । अवसर लिनका लागि मात्र आफूलाई प्रयोग गरिएको नेता सिंह बताउँछन् । उनले भने, ‘म नेतृत्व परिवर्तनको पक्षमा उभिएको मान्छे हो । सधैं उही नेतृत्वलाई किन घिसारेर हिँड्नु अरूमा जनमत र क्षमता छैन र ?’

पौडेल र सिंहबीच स्थानीय तहको चुनावदेखि नै मनमुटाव शुरू भएको थियो । हालै सम्पन्न स्थानीय तहको पार्टी अधिवेशनमा पनि भीमसेनदास प्रधानसँगको मिलेमतोमा कोइराला र पौडेल टोली सिंहको समूह हराउन लागिपरेको आरोप पनि सिंहले लगाउँदै आएका थिए । 

‘सरकार सञ्चालनमा सहजीकरण गर्न बनेको उच्चस्तरीय समन्वय समिति संयोजकमा बस्न पौडेलले आफ्ना समूहका साथीसँग सल्लाह गरे ?’ सिंहले प्रश्न गरे, ‘उहाँ देउवाजीको कार्यकर्ता हो ?’ 

सभापति देउवासँग संसदीय दलको नेताका लागि भएको चुनावमा पौडेल पक्षका सबै सांसदले गरेको असहयोगप्रति पनि प्रकाशमान असन्तुष्ट छन् । त्यतिबेला कोइराला र पौडेल कोही अगाडि सरेका थिएनन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्