०७ असार २०८३, आइतबार
सफलता

मासिक २०० तलबमा जागिर गरेका यी व्यक्ति बने १५०० जनाका रोजगारदाता !

कात्तिक २७, २०७८
मासिक २०० तलबमा जागिर गरेका यी व्यक्ति बने १५०० जनाका रोजगारदाता !

मोरङको सुन्दरहरैंचा नगरपालिकाका भोला दुलाल पूर्वाञ्चल ल्युब आयल (पीएलओ) का प्रबन्ध निर्देशक हुन् । सफल उद्यमीको रूपमा स्थापित दुलाल करीब २ दर्जन उद्योग, व्यवसायमा आवद्ध छन् ।

पीएलओ, विराटकोल, सीताकोल फेबिकल, जि–सेभेन पेन्ट्स, मोटरसाइकलको ट्युब उद्योग, होटल, निजी विद्यालय र दर्जनभन्दा बढी ट्रेडिङ व्यवसायमा आवद्ध छन् उनी । अटो ल्युब प्रालि, अन्नपूर्ण ट्रेड लिंक प्रालि, ब्राइट फ्युचर एजुकेसन फाउन्डेसन प्रालि, उद्योग वाणिज्य संघ, नेपाल जेसिजको अध्यक्ष समेत भइसकेका दुलाल २०४६ सालमा मासिक २०० रुपैयाँमा अरुको पसलमा जागिर गर्थे ।

२०३२ वैशाख १८ गते घनश्याम दुलाल र दुर्गादेवी दुलालको कोखबाट जन्मेका दुलालको जन्म मोरङको साविक राजघाट हाल उर्लाबारी नगरपालिका भएको हो । गाउँमा जन्मेका उनले बुवालाई चिन्ने मौका पाएनन् । 

‘मलाई १ वर्ष पुग्न नपाउँदै बुवाले संसार छाडेर जानुभयो,’ दुलालले भने, ‘जेनतेन गरेर आमाले एसएलसीसम्म पढाउनुभयो । सामान्य किसान परिवार भएकाले आमालाई व्यवहार धान्न कठिन हुन्थ्यो । दुइटी आमाहरू हुनुहुन्थ्यो । २ दाजुभाइ र ३ जना दिदीबहिनी थियौं ।’

एसएलसी पास गरेपछि आमाले थप पढाउन नसक्ने बताएको उनी स्मरण गर्छन् । ‘२०४६ सालमा एसएलसी पास गरेपछि आमाले ‘म पढाउन सक्दिनँ, भएको सम्पत्तिभन्दा बढी ऋण लागिसक्यो, अब कमाउँदै पढ्’ भन्नुभयो,’ उनले भने, ‘मैले मामालाई गएर मलाई पढ्न मन छ, काम खोजिदिनुपर्‍यो भनें । मामाले दमकका नारायण गौतमले सञ्चालन गर्नुभएको एक मशिनरी पसलमा महिनामा २०० रुपैयाँ दिने गरी काम खोजिदिनुभयो । मैलै त्यहीँ पसलमा काम गर्दै १२ कक्षासम्मको अध्ययन गरें, ३ वर्षजति काम गरेपछि आफैंलाई व्यवसाय गर्ने भूत चढ्यो ।’

व्यवसायमा हात हाल्दै उनले विराटचोकमा पसल खोले । ‘२०४९ सालमा ७० हजार रुपैयाँ पुँजी लगाएर विराटचोकमा मशिनरी पसल सञ्चालन गरें । यहाँ कुनै व्यापारी थिएनन् र व्यवसाय पनि । विराट चोकमा आउँदा एउटा पक्का घर बन्दै थियो । बिजुली, बाटा केही पनि थिएनन् । मेरा लागि चुनौती र अवसर दुवै थियो । मैले जुन पसलमा काम गरें, त्यहीँ व्यवसाय विराट चोकमा सञ्चालन गरें । वीरगञ्ज, दमकबाहेक कतै पनि त्यस्ता पसल थिएनन् । ३ वर्षको मात्रै अनुभव भएका कारण मेरा लागि ठुला चुनौतीहरू धेरै थिए । मेहनतका कारण सोच अनुसारको कमाइ पनि गर्न सफल भएँ,’ उनले भने, ‘धन कमाए पनि नाम कमाउन सकिनँ । उद्योग व्यवसायबाटै नाम कमाउने मेरो उद्देश्य थियो । नाम कमाउनका लागि उद्योग चलाउनुपर्छ भन्ने लाग्यो । आफ्नै देशमा केही गर्नुपर्छ, यहीँ भविष्य खोज्नुपर्छ भन्ने थियो, त्यही जोशका कारण काम गर्न सफल भएँ ।’

उद्योग स्थापनाका लागि उनले लुब्रिकेन्टस् क्षेत्र रोज्न खोजे । ‘मैलै काम गरेको पसल र मेरो पसलमा पनि लुब्रिकेन्टस्हरू धेरै चल्थे । अरुले उत्पादन गरेको बेच्ने नभई आफैं उत्पादन गर्ने लक्ष्य लिएर अध्ययन गर्न भारत गएँ । पार्टनर राजेश अग्रवालसँग भेट भयो र खोलौं भनेर सल्लाह गर्‍यौं,’ उनले भने ।

अहिले ७ जना मिलेर पीएलओ सञ्चालन गरिरहेको उनले बताए । ‘२०५८ सालमा स्थापना गरेका थियौं, मेहनत पनि गर्‍यौं, त्यसको प्रतिफल राम्रो छ । नेपालमा नम्बर वान ब्रान्ड बनाउन सफल भएका छौं,’ उनले भने ।

उनले होटल व्यवसाय पनि सञ्चालन गरेका छन् । ‘हामीले हाम्रै देशका अग्लादेखि होचा ठाउँको सुन्दरता बेचेर नै पैसा कमाउन सक्छौं तर उदाउँदा शहरहरूमा लगानीकर्ता आउँदैनन् । पुराना र चलेका शहरहरूमा मात्रै लगानी गर्ने गरेको पाइन्छ । त्यही भएर हामीले दमक र विराट चोकमा होटल व्यवसाय पनि सञ्चालन गर्न थालेका छौं,’ उनी भन्छन्, ‘यी बजारमा विदेशी पाहुना आउँदा बस्ने खालका होटल नै छैनन्, त्यही भएर हामीले व्यवसाय शुरू गरेका हौं । होटलमा ३०० भन्दा बढी कर्मचारी छन् ।’ आफूले सञ्चालन गरेका उद्योगधन्दा र व्यवसायमा १ हजार ५०० जनालाई रोजगारी दिएको उनले बताए । कोभिडले व्यवसायलाई ४–५ वर्ष पछाडि धकेलेको उनी बताउँछन् ।

उनको परिवारका सबै सदस्य व्यवसायमै आवद्ध छन् । उनका छोराले स्नातक सकेर होटल सम्हालिरहेका छन् भने छोरी हाउजिङ कम्पनी खोलेर काठमाडौंमा घर बनाइरहेकी छन् । छोरीले ७ वटा घर बनाइरहेकी दुलालले बताए । उनले शुरू गरेको व्यवसाय सत्कार मशिन पत्नीले हेर्ने गरेकी छन् ।

पीएलओसहित अन्य उद्योगहरू आफूले हेर्ने गरेको दुलालले बताए । ‘आमाबाहेक दाजुभाइ र भतिजहरू पनि व्यवसायमा छन्,’ उनले भने, ‘मेहनत गर्‍यो भने नेपालमै केही गर्न सकिन्छ ।’

‘पीएलओ उद्योग खोल्दा दुलाल बौलायो भन्थे, पार्टनरहरूले पनि यहाँ नखोलौं, अन्य उद्योग भए ठाउँमा जाउँ भनेका थिए । नयाँ व्यवसाय गर्दा भर्जिन अर्थात नयाँ ठाउँको खोजी गर्नुपर्छ भन्ने लागेर मेरै जिद्दीका कारण होटल तथा उद्योग विराट चोकमा खोलेका हौं,’ उनले भने । मेहनत गरे सफल पाइन्छ भन्ने उदाहरण दिइरहेका छन् उनी ।

नेपाल जेसिज वर्ष २०१३ को राष्ट्रिय अध्यक्ष, उद्योग वाणिज्य संघ इन्द्रपुरको ३ कार्यकाल अध्यक्ष हुँदै उनकै नेतृत्वमा विराट एक्सपो तथा विराटनगरमा विराटनगर एक्सपो समेत भएका छन् । ११८ वटा देशको भ्रमण गरिसकेको उनी बताउँछन् । सूचीकृत भएका १९८ देश नै भ्रमण गर्ने लक्ष्य रहेको उनले बताए ।

युरोप, अमेरिका, लन्डन घुम्दा देखेका सार्वजनिक शौचालय सुन्दरहरैंचामा बनाएको उनले बताए । पुस्तकालय सहितको शौचालय नेपालमै पहिलो बनाएको उनले दाबी गरे । ‘२ वटा बनिसकेका छन्, अरु पनि बन्ने क्रममा छन्,’ उनले भने, ‘घुमेर फर्केपछि त्यहाँका राम्रा काम यहाँ आएर गर्न मन लाग्छ ।’ ब्याडमिन्टन हल पनि विदेशमै देखेर बनाएको उनले बताए । 

उनी २३ वटा व्यवसायमा आवद्ध छन् । ५ वटा उद्योगको नेतृत्व उनले गरेका छन्, जसमध्ये प्रमुख उद्योग पीएलओ लुब्रिकेन्ट्स हो । विराटकोल, सीताकोल फेबिकल, पेन्ट्स्, मोटरसाइकलको ट्युब उद्योग, निजी विद्यालय पनि सञ्चालन गरिरहेका छन् उनले । ट्रेडिङ बिजनेश अन्तर्गत टायर, गाडीका पार्ट आयात गरेर उनले बिक्री गर्दै आएका छन् । सबैभन्दा पुरानो सत्कार मशिनरी हो, सत्कारबाहेक उनका सबै व्यवसाय साझेदारीमा सञ्चालित छन् । 

salt training

कमेन्ट गर्नुहोस्