
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नेपालीले विकास र स्थायित्व दिने जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारलाई थपिएको बताएका छन् । बेँसीशहरमा कांग्रेस लमजुङका कार्यकर्ता भेलामा उनले कम्युनिष्टको दुई तिहाइ बहुमतको सरकारले देश विकास गर्न नसकेकाले प्रदेशमा आफू नेतृत्वको सरकारलाई जिम्मेवारी थपिएको बताए ।
सारा अधिकार आफ्ना हातमा लिन खोजेकाले तत्कालीन नेकपामा विद्रोह हुँदा कांग्रेसलाई जिम्मेवारी मिलेको उनको भनाइ छ । यसअघिको चुनावमा कांग्रेसलाई सरकारको प्रतिपक्षमा बस्ने मत प्राप्त भएकाले पाँच वर्ष नै सोही भूमिकामा बस्न लागे पनि देश र जनताका लागि कांग्रेस नेतृत्वको गठबन्धन सरकार आवश्यक भएको मुख्यमन्त्री पोखरेल नेपालीले उल्लेख गरे ।
त्यस्तै उनले अरु पार्टीभन्दा कांग्रेस महाधिवेशन सबैको आकर्षणको केन्द्र हुने भएकाले राम्रोसँग सफल बनाउनका लागि कार्यकर्तालाई आग्रह गरे । त्यस्तै मुख्यमन्त्री पोखरेल नेपालीले सुन्दर बजार नगरपालिका–८ भोटेओडारस्थित सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाको २५औँ वार्षिकोत्सव तथा २२औँ साधारणसभाको उद्घाटनसमेत गरेका थिए ।