२९ जेठ २०८३, शुक्रबार

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

कात्तिक २८, २०७८
भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो ।

बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ : ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

‘सबै विद्युत् २० भारूमा नै विक्री भएको भने होइन । मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस क्रममा उक्त अवधिको बिजुली त्यस मूल्यमा विक्री भएको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

भारत सरकारको अनुमति पाएसँगै प्राधिकरणले गत कात्तिक १७ गतेयता निरन्तर त्यहाँको विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धीदरमा बिजुली विक्री गर्दै आएको छ ।

सामान्यतया प्राधिकरणले दैनिक औसतमा प्रतियुनिट भारू ३/४ मा बिजुली विक्री गर्दै आएको छ । भारतमा देखिएको ऊर्जा संकट र पिक आवरमा विद्युत्को मूल्य बढ्ने गरेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले कात्तिक १७ गतेयता आफ्नै स्वामित्वको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गर्दै आएको छ । प्राधिकरणले दिनमा १५/१५ मिनेटको ९६ ओटा ब्लकमार्फत विजुली बिक्री गर्छ । त्यसअनुसार विद्युत् एक्सचेन्ज मार्केटमा १५/१५ मिनेटमा नै बिजुलीको खरीदविक्री दर थपघट हुने गर्छ । त्यस क्रममा बिहीवार साँझ ६ : ३० देखि ६ : ४५ सम्मको ब्लकमा भारू २० मा नेपाली विद्युत् विक्री भएको हो ।

प्राधिकरणका अनुसार प्रत्येक ब्लकमा विद्युत्को खरीदविक्री दर फरकफरक वा एउटै पनि हुन सक्छ । भारू १ दशमलव ९९ मा पनि बिजुली विक्री हुने गरेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रतियुनिट भारू २० मा बिजुली विक्री हुनु खुशीको कुरा भएको बताए । ‘त्यहाँ कुन दरमा बिजुली खरीदविक्री गर्ने भनेर हाम्रो हातमा हुँदैन । मार्केटको सिस्टमअनुसार प्रत्येक १५/१५ मिनेटमा बिजुलीको खरीदविक्रीदर मार्केटले नै निर्धारण गर्छ । माग र आपूर्तिको अवस्थाअनुसार विद्युत्को दर निर्धारण हुने गर्छ,’ उनले भने, ‘त्यस क्रममा हाम्रो विद्युत् पनि भारू २० सम्ममा विक्री भएको छ । तर, दैनिक औसतमा ३/४ भारूमा हाम्रो विद्युत् विक्री भइरहेको छ ।’

भारत सरकारले गत कात्तिक १५ गते प्राधिकरणलाई आफ्नो विद्युत् एक्सचेन्ज मार्केटमा विद्युत् विक्री गर्न अनुमित दिएको थियो । भारतले एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न त गत वैशाखमा नै अनुमति दिएको थियो । अहिले आएर विद्युत् विक्री गर्न पनि नेपाललाई अनुमति दिएको हो । त्यसपछि प्राधिकरणले त्यहाँको एक्सचेन्ज मार्केटमा ३९ मेगावाट विद्युत् विक्री गर्दै आएको छ ।

प्राधिकरणले भारतीय विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न केही समयअघि त्यहाँको ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । सोही आधारमा भारतको ऊर्जा मन्त्रालयले नेपाललाई आफ्नो विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बनाएको हो । भारतीय खुला बजारमा विद्युत् किनबेचका लागि अनुमति पाउने नेपाल दक्षिण एशियाकै पहिलो मुलुक हो । आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्