
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।
मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारी गरेको कांग्रेस अहिले धमाधम अधिवेशनमा जुटेको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।
यसैबीच कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक शनिबार बसेको छ । बैठकमा पार्टीको आसन्न १४औँ महाधिवशेनको तयारीका लागि विभिन्न समिति उपसमिति बनाउनेलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकोे निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा केन्द्रीय कार्य समितिको बैठकमा पेश हुने प्रस्तावका बारेमा पनि छलफल भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकले महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदन गर्ने प्रस्तावलगायत कार्यसूची तय गरेको उनको भनाइ छ ।
साथै विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता अनुमोदन गरिएको उनले बताए ।