२३ असार २०८३, मंगलबार

देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी समिति गठन, पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन गरिने

कात्तिक २८, २०७८
देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी समिति गठन, पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन गरिने

नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ । 

बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आइतवार बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति देउवाको नेतृत्वमा सो महाधिवेशनको मूल तयारी समिति गठन गरेको हो । 

पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सातवटै प्रदेश संसदीय दलका नेताहरू सो मूल तयारी समितिको सदस्य रहने निर्णय पनि बैठकले गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

त्यसै गरी बैठकले पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ । १४ औं महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने र त्यसबाट निर्वाचित हुने केन्द्रीय कार्यसमितिले पार्टीको नीति र कार्यक्रममा लागि छुट्टै महाधिवेशन गराउने निर्णय गरिएको प्रवक्ता शर्माले बताए । 

‘नेपाली कांग्रेस पार्टीले नीतिको अधिवेशन र नेतृत्व चयनको अधिवेशनलाई फरक गर्ने भन्ने विषय प्रस्तावित गरिएको छ,’ उनले भने, ‘पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी तहमा सर्वसम्मतिले पारित भएको विषय केन्द्रीय समितिले यसलाई पक्कै अनुमोदन गर्नेछ ।’

महाधिवेशनका लागि नेता ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ । प्रवक्ता शर्माका अनुसार भोजन तथा आवास समितिको संयोजक सुरेन्द्रराज पाण्डे, विदेश पाहुना स्वागत तथा व्यवस्थापन समितिको संयोजकमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रचार प्रसार समितिमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति र त्यसमा ललितपुर जिल्ला र भक्तपुर जिल्लाका सभापतिहरू सदस्य रहने व्यवस्था गरिएको छ । 

त्यस्तै स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङ र स्वयम्सेवक मूल समितिको संयोजक धनबहादुर मास्के राना र विभिन्न समितिहरूमा संयोजकहरूले आवश्यकताअनुसार सदस्यहरू चयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता शर्माले बताए । 

कांग्रेसले सातवटै प्रदेश अधिवेशनहरू सम्पन्न गर्नका लागि पार्टीका नेताहरूलाई जिम्मेवारी तोकेको छ । जसअनुसार प्रदेश १ मा प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिइएको छ भने अधिवेशन विराटनगरमा आयोजना हुनेछ । 

प्रवक्ता शर्माका अनुसार प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ र त्यसको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य रमेश रिजाललाई दिइएको छ । 

बागमती प्रदेशको संयोजक पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह र स्थान हेटौंडा तोकिएको छ । गण्डकी प्रदेशको प्रदेश अधिवेशनका लागि संयोजकमा पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ र स्थान पोखरा तोकिएको छ । 

लुम्बिनी प्रदेशको संयोजक बालकृष्ण खाँण र स्थान बुटवल, कर्णाली प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि केन्द्रीय सदस्य जीवनबहादुर शाही संयोजक र स्थान सुर्खेत तोकिएको छ । 

सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकिएको र स्थान धनगढी तय गर्ने काम पनि पार्टी केन्द्रीय कार्यसमितिको बैठकले गरेको प्रवक्ता शर्माले बताए । उनले तोकिएका संयोजकहरूले प्रदेश अधिवेशनको अध्यक्षता गर्ने र सो अधिवेशनहरूमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेश सभाका संसदीय दलका नेता र प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरु, संयोजक र उपसंयोजकहरु, नगरपालिकाका प्रमुख र उपप्रमुखहरु, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु जो नेपाली कांग्रेसबाट निर्वाचित हुन्छन् वा पछिल्लो समय नेपाली कांग्रेसमा आवद्ध भएकाहरू सहभागी हुनेछन । 

‘सातवटै प्रदेश समितिका अधिवेशनहरू मंसीर १६ र १७ गते सम्पन्न हुने भएको छ,’ उनले भने । बैठकले महाधिवेशनसँग सम्बन्धित अन्य विषयहरूमा थप निर्णय गर्ने प्रवक्ता शर्माले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्