०२ असार २०८३, मंगलबार

उपप्रमुखकी उम्मेदवार गायिका हमाल भन्छिन्, गीत गाउनभन्दा भोट माग्न धेरै गाह्रो

कात्तिक २०, २०७४
उपप्रमुखकी उम्मेदवार गायिका हमाल भन्छिन्, गीत गाउनभन्दा भोट माग्न धेरै गाह्रो
दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ मा हुँदैछ । स्थानीय तहको चुनावी माहोलले पहिलो चरणको निर्वाचन सम्पन्न गरेका जिल्लाहरूमा त्यति चासो नभएपनि प्रदेश १, ५ र ७ मा भने चुनावी सरगर्मीले असारे गर्मीलाई समेत ओझेलमा पारेको छ ।

बीस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले यतिबेला रोल्पाको ध्यान पनि चुनावतिर नै तानेको छ । रोल्पालीहरू आफ्नो कामलाई थाती राखेर चुनावी चहलपहलमा जुटेका छन् ।

लोकगायिका राधिका हमाल यतिबेला रोल्पाको त्रिवेणी गाउँपालिकामा डुल्दैछिन् । उनी रोल्पा पुग्नुको कारण कुनै गीत संकलन गर्न या भिडियो छायांकनका लागि भने होइन । राष्ट्रिय स्तरमा लोकगायिकाको अब्बल परिचय बनाएकी राधिकालाई यतिबेला चुनाव लागेको छ । अन्य कलाकारलाई जस्तै सामान्य रुपमा लागेको भने होइन ।

रोल्पाको त्रिवेणी गाउँपालिकामा उप–प्रमुखकी उम्मेदवार राधिका यतिबेला चुनावी प्रचारमा व्यस्त भएकी हुन् ।
‘रोल्पा पहिलेदेखि नै माओवादीको पकड भएको क्षेत्र हो, सबै पार्टीको उस्तै माहोल छ ।’ राधिका थप्छिन्, ‘अहिले हामी चुनावी प्रचारप्रसारमा व्यस्त छौं, उम्मेदवारमा चुनिएँ भने यो क्षेत्रका लागि धेरै गर्नुछ ।’

आफूले कांग्रेसको टिकट पाउनुलाई ठूलो उपलब्धीका रुपमा लिन्छिन् राधिका । पार्टीले आफूलाई उप–प्रमुख उम्मेदवारका रुपमा चयन गरेकोमा कांग्रसलाई धन्यवाद पनि दिन्छिन् ।

एकाएक उनलाई उप–प्रमुखमा भिड्न किन रहर लाग्यो त? ‘यहाँको गैरीगाउँको विद्यामन्दिर स्ुकलमा पढेका भाइबैनीलाई मैले युरोप, बेलायततिर भेटें तर यही विद्यालयमा अझै बाटो पुगेको छैन ।’ उनले थपिन्, ‘यदि मैले जितें भने गाउँको विकासका लागि कति पनि आनाकानी गर्नेछैन ।’

नेपालको विकास नहुनुको प्रमुख कारण भ्रष्टाचार भएको बताउँदै राधिकाले त्यसलाई रोक्न जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताउँछिन् ।

विकासका लागि युवापुस्ता अगाडि सर्नुपर्ने बताउँछिन् उनी । यदी आफूले चुनावमा जिते गाउँमै रोजगार र पूर्वाधार निर्माणमा भूमिका खेल्ने उनको योजना छ । ‘बाटोघाटो, शिक्षा र एकल महिलालाई प्रोत्साहन दिने खालका कार्यक्रम हामीले गाउँपालिकामा बिस्तार गर्नेछौं ।’ आफू उप–प्रमुखमा उठ्नुको कारण राजनीतिको माध्यमबाट समाजका माग सम्बोधन गर्न सकिने बताउँदै उनी थप्छिन्, ‘गीत गाउनभन्दा भोट माग्न धेरै गाह्रो छ तर पनि जनताले विश्वास गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।’

लण्डन जाँदा राधिकाले केटाकेटीका लागि बालभत्ता प्रदान गरेको देखेकी देखेकी थिइन् । वृद्धाभत्ता दिएजस्तै बालभत्ताको अवधारणा ल्याउन सक्यो भने पनि साना केटाकेटीले आफ्नो पढाइलाई अझ बिस्तारित गर्न सक्छन् भन्ने उनलाई लाग्यो । यो सोच उनले आफ्नो क्षेत्रमा प्रयोग गर्ने योजनामा छिन् ।

‘बीस वर्षपछि हुन लागेको स्थानीय निर्वाचनले अब हामीले काठमाडौंका सुविधालाई गाउँमा ल्याउन पाएका छौं ।’
चुनावमा हाज जित हुने भन्दै उनी पराजित भएको खण्डमा पनि स्थीय क्षेत्रको विकास निर्माणमा जुट्ने बताउँछिन् । ‘प्रतिस्पर्धा त धेरै नै छ तर अब मैले हारें भने पनि प्रतिपक्षीमै बसेर पनि यो गाउँपालिका विकासका लागि सहयोग गर्न सक्छु ।’ उनले भनिन् ।

उम्मेदवारीमा उठ्नुभन्दा पहिले भने उनमा यो हिम्मत थिएन ।

चुनावको प्रचारप्रसारमा उनी एक्लै भने छैनिन् । कांग्रेसमा प्रमुखको उम्मेदवारीमा उठेका कमलप्रसाद बुढा मगर लगायत अन्य सदस्य पनि लागिपरेका छन् । ‘प्रचारको पनि आचार संहिता छ, हामीले त्यही भित्र रहेर सबै सदस्यले उठाएर चुनाव खर्च जुटाएका छौं ।’ उनी भन्छिन्, ‘जनताले पनि पैसा दिएर भोट किन्ने भन्दा विकासवादी उम्मेदवार खोज्न थाल्नुभएको छ ।’

आफू कलाकार भएकाले भन्दा पनि विचार र खुबी भएकाले नै उप–प्रमुखको उम्मेदवारको लागि चनावमा प्रतिस्पर्धा गरेको उनले बताइन् । ‘कलाकारितामा म सबैकी हुँ, राजनीतिमा मलाई कांग्रेसका एजेण्डा राम्रा लागे ।’ उनले थपिन्, ‘म आफूलाई भाग्यमानी कलाकार मान्छु, जनताको साथ पाए त्रिवेशी गाउँपालिकालाई पनि नमूना गाउँपालिका बनाउने मेरो पहल हुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्