२४ जेठ २०८३, आइतबार
महाशक्तिको सम्बन्धमा उतारचढाव

बाइडन–सी वार्ताः अमेरिका र चीनबीचको सम्बन्ध एकाएक सुध्रिएको हो ?

मंसिर १, २०७८
बाइडन–सी वार्ताः अमेरिका र चीनबीचको सम्बन्ध एकाएक सुध्रिएको हो ?

मंगलवार अमेरिकाका राष्ट्रपति जो बाइडन र उनका चिनियाँ समकक्षी सी चिनपिङबीच भर्चुअल शिखरवार्ता सम्पन्न भएपछि त्यसको उपलब्धिका विषयमा चर्चा हुन थालेको छ । 

दुई देशबीच व्यापार सम्बन्ध, ताइवान, मानवअधिकार, नियममा आधारित विश्व व्यवस्था लगायतका विषयमा मतभेद रहेको अवस्थामा राष्ट्रप्रमुखहरूबीच औपचारिक वार्ता हुनु नै सुखद् कुरा हो । त्यसो त दुवै पक्षले यस शिखरवार्ताबाट धेरै अपेक्षा गर्न नहुने बताएका थिए ।

वार्ताको आरम्भ सौहार्दपूर्ण तरिकाले भएको थियो । बाइडन र सी उपराष्ट्रपति हुँदादेखिकै मित्र हुन् र उनीहरूबीच धेरैपटक भेटघाट भइसकेको छ । सीले बाइडनलाई ‘मेरो पुरानो साथी’ भन्दै सम्बोधन गरेपछि बाइडनले वार्तालाई औपचारिक बनाउन खोजेका थिए । 

यस वार्तालाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा चीन र अमेरिकाका सञ्चारमाध्यमहरूमा स्वाभाविक भिन्नता देखियो । जस्तो, चिनियाँ सञ्चारमाध्यमहरूले जारी गरेको तस्वीरमा बाइडनले दाँत देखाएर हाँसेको देखिन्छ भने सी चाहिँ मुसुमुसु हाँसिरहेको देखिन्छ । 

बाइडनले नै यो शिखरवार्ताका लागि पहल गरेको सन्दर्भमा सीससँग वार्ता गर्नैपर्ने बाध्यता बाइडनलाई थियो, सीलाई हैन भनी चिनियाँहरूले प्रस्तुत गर्न खोजेको देखिन्छ । त्यसैले चिनियाँहरूको नजरमा सीसँग वार्ता गर्न पाउँदा बाइडन बढी उत्साहित थिए किनकि उनी चीनलाई चिढ्याएर आफ्ना विभिन्न परियोजनाहरू अघि बढाउन सकिँदैन भन्ने कुरा जान्दछन् । 

यस विषयमा सीजीटीएनमा वाङ स्याओनान र चाओ युवेले गरेको विश्लेषणमा पेकिङ विश्वविद्यालयमा सेन्टर फर अमेरिकन स्टडीजका निर्देशक वाङ योङको भनाइ उल्लेख छ । 

वाङका अनुसार, महामारी र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीका अतिरिक्त अमेरिकाभित्रैका समस्याले गर्दा पनि बाइडनलाई सीसँगको बैठकको हतारो भएको हो । बाइडनको लोकप्रियता र समर्थन स्वाट्टै घटेको, अमेरिकाका महंगी अचाक्ली बढेको र ऋणको सीमा निर्धारणको समस्या रहेको स्थितिमा चीनसँग सम्बन्ध पुनर्बहाली गर्न अमेरिकालाई जरूरी परेको छ । 

त्यसो त सीएनएनका केभिन लिपट्याकले पनि यसैलाई पुष्टि गर्ने हिसाबमा विश्लेषण गरेका छन् । उनका अनुसार, बाइडनले ध्यान केन्द्रित गरिरहेको लगभग सबै विषय चीनसँगै जोडिन पुग्छ । 

अमेरिकामा महंगी बढाउने आपूर्ति शृंखलाको समस्या चिनियाँ उत्पादनको कमीका कारण भएको हो । जलवायु परिवर्तनविरुद्ध लड्नका लागि सीले सहयोग नगरेमा अमेरिकाले लक्ष्य हासिल गर्न सक्दैन । अनि उत्तर कोरिया र इरान लगायतका मुलुकले निम्त्याउने समस्या व्यवस्थापनमा चीनसँगको सहकार्य अमेरिकाका लागि अपरिहार्य छ ।

लोकप्रियता घटेर तनावमा रहेका बाइडन अनि चिनियाँ कम्युनिस्ट पार्टीको १९औं केन्द्रीय समितिको छैटौं प्लेनमबाट थप शक्तिशाली बनेका सीबीचको अन्तरलाई पनि लिपट्याकले उजागर गरेका छन् ।

ह्वाइट हाउसले जारी गरेको वार्ताको रीडआउटमा चीनले क्षेत्रीय स्तरमा गर्न खोजेको शक्तिप्रदर्शनलाई अमेरिकाले विरोध गर्ने विषयमा बाइडनले जोड दिएको उल्लेख छ । ‘अमेरिका आफ्ना साझेदार तथा सहयोगीहरूसँग मिलेर आफ्ना मूल्यमान्यता तथा स्वार्थका लागि दह्रो गरी उभिइरहनेछ र एक्काईसौं शताब्दीलाई डोहोर्‍याउने नियमहरूमार्फत स्वतन्त्र, खुला तथा स्वच्छ अन्तर्राष्ट्रिय प्रणालीको विकासमा योगदान गर्ने सुनिश्चितता गर्नेछ ।’ 

अर्थात्, अस्ट्रेलिया, भारत, जापान, दक्षिण कोरिया, बेलायत लगायतका अमेरिकी साझेदारलाई चीनबाट दबाब परेमा प्रतिकार गर्ने बाइडन प्रशासनले अडान देखिन्छ । अनि नियमको कुरा झिकेर अमेरिकाले आफूले बनाएको नियम पालन गर्न (अर्थात् अमेरिकाको प्रभुत्व स्वीकार गर्न) चीनलाई सुझाव दिएको छ । 

त्यससँगै महत्त्वपूर्ण रूपमा बाइडनले चीन र अमेरिकाबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत हुन नहुने बताए । त्यसले अमेरिका जतिसुकै तनावको स्थिति बढे पनि चीनसँग युद्ध गर्न तयार छैन भन्ने स्पष्ट पारेको छ । 

चीनले विगत केही समयदेखि लगातार आणविक हतियारको संख्या बढाइरहेको तथा हाइपरसोनिक क्षेप्यास्त्र पनि सफल परीक्षण गरिसकेको अवस्थामा अमेरिकाले उससँगको युद्ध आरम्भ गर्नु बुद्धिमत्तापूर्ण कदम हैन भनी बुझिसकेको पनि यसले देखाउँछ । मानवताको भलाइका लागि युद्ध नगर्ने सोच अमेरिकाको हैन, प्रतिस्पर्धी मुलुकको सैन्य शक्तिमा अकल्पनीय वृद्धि भएपछि अमेरिकाले व्यावहारिक सोच विकसित गरेको हो भनी बुझ्नु उपयुक्त हुन्छ । 

शिखरवार्ताका विषयमा चीनले जारी गरेको रीडआउटमा उक्त वार्ता व्यापक, गहिरो, स्पष्ट, सिर्जनात्मक, ठोस र उत्पादक भएको उल्लेख छ । अर्थात्, चीनले वार्तालाई सकारात्मक रूपमा लिएको छ । 

चीनका सरकारी सञ्चारमाध्यमहरूले राष्ट्रपति सीलाई उद्धृत गर्दै दिएको खबरअनुसार, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सबैको जीत हुने सहकार्यको सिद्धान्तलाई पालन गर्ने नयाँ युग आएको भनी सीले बाइडनलाई बताए । अर्थात्, अमेरिकाले चीनलाई पनि आफूसमानको शक्तिका रूपमा सम्मान गर्नुपर्ने र चीनलाई साथ लिएर विश्वव्यापी चुनौतीको सामना गर्नुपर्ने सीको आशय छ । 

त्यसलाई सीले रूपक अलंकार प्रयोग गरेको चिनियाँ रीडआउटमा देखिन्छ । सीले भने, ‘चीन र अमेरिका समुद्रमा तैरिरहेका दुई विशाल जहाज हुन् । हामीले ती जहाजलाई सम्हाल्नुपर्नेछ जसले गर्दा आँधीतुफान आउँदाखेरी जहाजहरू अघि बढ्दै जाँदा एकअर्कासँग ठोकिने स्थिति नआओस् ।’

र्‍यान्ड कर्पोरेसन नामक थिंकट्यांकका नीति विश्लेषक लाइल जे मोरिसले यस भनाइको सटीक विश्लेषण गरेका छन् । 

उनका अनुसार, सन् २००९ मा यूएस चाइना स्ट्राटेजिक यान्ड इकोनोमिक डायलोगका क्रममा चिनियाँ अधिकारीहरू वाङ छिशान र ताइ बिङगुओले दुई देशबीचको सम्बन्ध एउटै डुंगामा चढेर नदी तरे जस्तो भनी व्याख्या गरेका थिए । त्यसको एक दशक बितिसक्दा चीनले एउटै डुंगामा बसेर समस्या समाधान गर्ने भन्दा पनि फरक फरक डुंगा (जहाज) मा बस्ने तर एकअर्कासँग नठोकिने प्रस्ताव राख्न थालेको देखिन्छ । 

तिब्बतलाई चीनको अंग बनाएका माओ अनि हङकङ र मकाउलाई चिनियाँ मुख्यभूमिको हिस्सा बनाएका तङपछि ताइवानलाई मुख्यभूमिसँग पुनरेकीकरण गर्न पाए आफू महानतम नेताको श्रेणीमा परिन्छ भन्ने कुरा सीलाई थाहा छ । त्यसैले उनी ताइवानका विषयमा कुनै पनि सम्झौता गर्न तयार छैनन् । सकेसम्म फकाएर नै ताइवानलाई मुख्यभूमिमा मिसाउने उनको रणनीति देखिन्छ । 

भनाइको मतलब, अमेरिकाले बनाएको विश्व व्यवस्थाको नियम चीनले नमान्ने र आफ्नो दृष्टिकोणको विश्व व्यवस्था अनुसार अघि बढ्ने यसबाट स्पष्ट हुन्छ । अमेरिकाले अझै पनि एकध्रुवीय विश्वको सर्वेसर्वा आफैं भएको सोच राख्ने गरेको भए पनि चीनले त्यसलाई स्वीकार नगर्ने अडान राखेको छ । यी दुई देशबीचको तनाव र संघर्षको चुरो नै यस मतान्तरमा अडिएको छ । 

बाइडन र सीबीचको शिखरवार्तामा ताइवानका विषयमा भएको कुराकानीको पनि भिन्नाभिन्नै व्याख्या गरिएका छन् । अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दैन भनी बाइडनले बताएको भनी चीनको सरकारी सञ्चारमाध्यम सीजीटीएनले खबर दिएको छ । अमेरिका एक चीन नीतिमा कायम रहेको भन्ने विषयलाई सीजीटीएनले जोड दिएको छ । 

तर यहाँ बाइडनले गरेको शब्दप्रयोगको सूक्ष्मतालाई विचार गर्नुपर्ने हुन्छ । अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भने पनि यथास्थितिलाई परिवर्तन गर्ने एकपक्षीय प्रयासको वा ताइवानको शान्ति र स्थिरतालाई अवमूल्यन गर्ने प्रयासको कडा विरोध गर्ने बाइडनले बताएको ह्वाइट हाउसको रीडआउटमा उल्लेख छ । त्यो भनेको चीनलाई सीधासीधा ताइवानमा हस्तक्षेप नगर्न चेतावनी दिएको हो । 

बाइडनले ताइवानको स्वतन्त्रता प्रयासलाई स्पष्ट रूपमा विरोध नगर्दा अहिलेका लागि आधिकारिक नीति जे भए पनि पछि समयसन्दर्भमा ताइवान स्वतन्त्रतालाई अमेरिकाले समर्थन गर्न सक्ने भनी अर्थ लगाउन पनि सकिन्छ । ताइवानका विषयमा रणनीतिक दुविधा (स्ट्राटेजिक एम्बिग्विटी) राखिरहेको अमेरिकाका लागि यो अस्पष्टता चीनलाई दबाबमा राख्ने प्रयास हो भनी बुझ्नुपर्ने हुन्छ ।

सीले चाहिँ ताइवानका विषयमा कठोर दृष्टिकोण कायम रहनेमा जोड दिएका छन् । ताइवानको सत्तारूढ दलले स्वतन्त्रताको विषय उठाएमा वा चीनले कोरेको लक्ष्मणरेखा पार गरेमा चीनले कठोर उपाय अपनाउने सीले बताए । 

तिब्बतलाई चीनको अंग बनाएका माओ अनि हङकङ र मकाउलाई चिनियाँ मुख्यभूमिको हिस्सा बनाएका तङपछि ताइवानलाई मुख्यभूमिसँग पुनरेकीकरण गर्न पाए आफू महानतम नेताको श्रेणीमा परिन्छ भन्ने कुरा सीलाई थाहा छ । त्यसैले उनी ताइवानका विषयमा कुनै पनि सम्झौता गर्न तयार छैनन् । सकेसम्म फकाएर नै ताइवानलाई मुख्यभूमिमा मिसाउने उनको रणनीति देखिन्छ । 

समग्रतामा हेर्दा, अमेरिका र चीनबीच मतान्तरका मुख्य विषयमा आआफ्नो अडान कायम रहेको अवस्थामा बाइडन र सीबीचको शिखरवार्ताले कुनै ठोस परिणाम दिन नसकेको देखिन्छ । हुन त एउटा वार्ताले आमूल परिवर्तन ल्याउँछ भनी सोच्नु नै गलत हो । 

सीलाई ‘स्ट्रङम्यान’को छवि कायम राख्नुपर्ने बाध्यता अनि बाइडनलाई चीनप्रति नरम देखिँदा मध्यावधि निर्वाचनमा हार हुन सक्ने जोखिमको डरले गर्दा पनि लचिलो बन्नलाई बाधा पुगिरहेको छ ।

तर सी र बाइडनबीचको व्यक्तिगत कूटनीतिक सम्बन्धले दुई देशबीचको प्रतिस्पर्धालाई द्वन्द्वको चरणमा नलग्ने सुनिश्चित गर्न चाहिँ सक्छ । यस शिखरवार्ताले दुई देशबीचको सम्बन्धलाई सिर्जनात्मक तथा उत्पादक बनाउनका लागि बाटो खोल्ने अपेक्षा संसारले गरेको छ । 

जलवायु परिवर्तन रोक्ने विषयमा ग्लास्गोमा चीन र अमेरिकाबीच अचानक बनेको सहमतिले दुई देशबीचको सहकार्यको सकारात्मक परिणामलाई उजागर गरेको छ । तर दुई देशबीचका अन्य मतान्तरहरू गहिरो भएकाले सम्बन्धको तिक्तता हटिहाल्ने अपेक्षा गर्न मिल्दैन ।

salt training

कमेन्ट गर्नुहोस्