
सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरूको बैठकले मुद्दाको पेशी व्यवस्थापनका लागि गोलाप्रथा प्रणालीसहितको नियमावली र कार्यविधि पारित गरेको छ।
सर्वोच्च अदालत स्रोतले दिएको जानकारी अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरारहितको १८ जना न्यायाधीशहरूको बैठकले उक्त कार्यविधि पारित गरेको हो।
यसमा प्रधानन्यायाधीशले हस्ताक्षर गरेर राजपत्रमा प्रकाशित भएपछि न्यायाधीशहरूले आ-आफ्नो गोला तानेर मुद्दाको सुनुवाइ गर्न सक्नेछन् ।
पारित भएको नियमावली र कार्यविधिलाई सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमार्फत हस्ताक्षरका लागि प्रधानन्यायाधीशकोमा पुर्याइने स्रोतले बतायो ।
त्यसपछि राजपत्रमा प्रकाशनका लागि कानून मन्त्रालयमा पठाइनेछ।
राजपत्रमा प्रकाशित भएपछि मुद्दाको पेशी व्यवस्थापनका लागि गोला प्रणाली लागू हुनेछ ।