
नेकपा एमालेका सचिव योगेश भट्टराईले एक्लाएक्लै चुनाव लड्ने हो भने आगामी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
बिहीवार मकवानपुरको मनहरीमा आयोजित एमाले गाउँ कमिटीको शपथग्रहण कार्यक्रममा नेता भट्टराईले विभाजनले एमालेलाई खासै असर नगरेको उल्लेख गरे ।
उनले एमालेबाट केही समूह चोइटिएर गएको बताउँदै त्यसलाई रोक्न प्रयास गर्दा पनि नसकेको बताए । पार्टी नफुटाउन गरेको अनुनय नेता माधव नेपालले नसुनेको उनको आरोप थियो ।
भट्टराईले मंसिर १० गतेदेखि चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए । ‘देशको सबै जिल्ला र संघसंगठनबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन्, त्यसैले हामीलाई नेतृत्व पनि सर्वसम्मत चयन गर्न दबाब छ, हाम्रो अध्यक्ष पनि सोही कुरामा चिन्तित हुनुहुन्छ,’ भट्टराईले भने ।
कार्यक्रममा भट्टराईले नवीन सुवेदीको अध्यक्षतामा गठित नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको शपथ गराएका थिए ।