०६ असार २०८३, शनिबार

प्रदेश २ सरकारः मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

मंसिर ३, २०७८
प्रदेश २ सरकारः मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो ।

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् । अख्तियारले गरेको प्रथम चरणको अनुसन्धानअनुसार भ्रष्टाचार ठहर भइसकेकाले पदमा बसेर मुद्दा प्रभावित बनाउन सकिने भएकाले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने सोनलले बताए ।

‘मुख्यमन्त्रीले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्छ । साइकल वितरण कार्यक्रममा भ्रष्टाचार भएको ठहर भइसकेको छ । अब चार सिट तयार गरी मुद्दा हालिँदै छ । यस्तो अवस्थामा मुख्यमन्त्रीले तुरुन्त राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्छ,’ सोनलले भने ।

लोसपा कार्यकारिणी समितिका सदस्यसमेत रहेका सोनलले अख्तियारले निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए । मुख्यमन्त्री राउत नेतृत्वको प्रदेश २ सरकारमा यसअघि सोनल भौतिक पूर्वाधार मन्त्री थिए ।

प्रतिपक्षी दल नेकपा (एमाले) प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलले भ्रष्टाचारमा प्रदेश २ अघि रहेको बताए । एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका मण्डलले प्रदेश २ सरकारको हरेक कार्यालयमा भ्रष्टाचार तीव्र रूपमा भइरहेको बताए । भ्रष्टाचार गरेको आरोप लागेका मुख्यमन्त्री राउतले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने उनले बताए ।

‘साइकल वितरण कार्यक्रममा मात्रै नभई प्रदेश २ सरकारको हरेक कार्यालयका साथै स्थानीय तहमा समेत भ्रष्टाचार खुलमखुला भइरहेको छ । मुख्यमन्त्रीले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नु नै राम्रो हुन्छ,’ मण्डलले भने ।

अहिले प्रदेश २ सरकारका हरेक मन्त्रालयका साथै स्थानीय तहका सरकारहरूमा भ्रष्टाचार खुलमखुला भइरहेको अख्तियारको रिपोर्टले पुष्टि गरेको उनले बताए । सुशासन कायम गर्न अख्तियारले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको मण्डलले बताए ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले मुख्यमन्त्री लालबाबुसँग अलिकति पनि नैतिकता छ भने तुरुन्त राजीनामा दिनुपर्ने बताए । प्रदेश २ सरकार भ्रष्ट रहेको प्रमाणित भइसकेको बताउँदै उनले अख्तियारले अन्य कार्यक्रमको समेत छानबिन गरी भ्रष्टहरूलाई खोजीखोजी कानुनअनुसार कारबाही गर्नुपर्ने उनले बताए ।

‘मुख्यमन्त्रीसँग अलिकति पनि नैतिकता छ भने तुरुन्त राजीनामा दिनुपर्छ । जनताको काम नगर्ने केवल कमिसनमा केन्द्रित रहेको कुरा सबैलाई थाहा नै छ । यस्ता कमिसनखोरलाई कारबाही गर्नबाट अख्तियार पछाडि हट्नुहुन्न,’ महासचिव सिंहले भने ।

जनमत पार्टीले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको बताउँदै उनले पदमा बसेर मुद्दा प्रभावित बनाउन नमिल्ने बताए । अख्तियारले अनुसन्धान प्रक्रिया अगाडि बढाएकाले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने सिंहले बताए ।

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका सदस्य एवं प्रदेश २ का सांसद रामनरेश राय यादवले राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । साइकल वितरण कार्यक्रमका साथै अन्य कार्यक्रममा भएको भ्रष्टाचारविरुद्ध गर्दा आफू मन्त्री पदबाट बर्खास्तीमा समेत परेको बताउँदै उनले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताए ।

‘मैले पार्टी तथा संसदीय दलको बैठकमा पहिलेदेखि नै सरकारमा सहभागीलाई फिर्ता बोलाउनुपर्ने सुझाव दिँदै आएको छु । अब हुने बैठकमा समेत यो कुरा उठाउँछु । यस्ता भ्रष्ट व्यक्तिका कारण पार्टीको छविसमेत बिग्रिरहेकाले राजीनामा दिनु राम्रो हुन्छ,’ यादवले भने ।

साइकल वितरण कार्यक्रम’bout कुरा गर्दा मुख्यमन्त्री राउतले यस विषयमा कुनै प्रकारको कुरा गर्न नचाहेको बताए । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्