
कांग्रेसको अधिवेशनमा स्थानीय तहको चुनावी झल्को देखिएको छ ।
चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूले स्थानीय तहको चुनावी झल्को दिने गरी आ-आफ्ना गाडीमा फोटोसहितका ब्यानर टाँगेर चुनावी प्रचारप्रसारमा दौडिएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रवार प्रदेश सभा र ६ गते संघीय निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ ।
लुम्बिनीका रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तुसहित तराई र पहाडी जिल्लामा मतदातालाई आफूतर्फ तान्न घरदैलो अभियान र समूहगत भेटघाट कार्यक्रमलाई पनि तीव्रता दिएका छन् ।
अधिवेशनका मतदाता वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधि हुन् । वडा र स्थानीय तहको चुनावमा समेत गुट बनाएर चुनावी मैदानमा उत्रिएका जिल्लाका दुई गुटले क्षेत्रीय अधिवेशनमा पनि प्यानल बनाएर चुनावी प्रचारप्रसारमा जुटेका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवा र इतर गुटका नेताहरू प्रतिस्पर्धामा उत्रिएका हुन् । देउवा पक्षधर रहेका पार्टी केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलको एक गुट छ भने इतर पक्षका संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवालको संयुक्त गुट छ ।
देउवाइतर गुटले आफूहरू केन्द्रमा पनि देउवाइतरकै पक्षमा लाग्ने भएकाले केन्द्रीय नेताको पक्षमा नखुलेको बताएका छन् । ‘देउवाइतर जो नेता उठे पनि हाम्रो समर्थन हुन्छ । अहिले नै कुनै एक नेताको बारेमा नबोलौँ,’ नेता खनालले भने ।
जिल्लामा कँडेल र अर्को गुटबीच पहिल्यैदेखि नै पानी बाराबारको स्थिति छ । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन् । पार्टीको सम्पन्न गाउँ/नगर निर्वाचनमा देउवाइतर गुटले वर्चस्व कायम गरेको छ । जसअनुसार २ गाउँपालिका र १ नगरपालिकामा कँडेल गुटले चुनाव जितेको थियो । अन्य २ गाउँपालिका र २ नगरपालिकामा देउवा इतरका खनाल–जयसवाल गुटले चुनाव जितेको छ । जिल्लामा २ निर्वाचन क्षेत्रमा ४ वटा प्रदेश सभा क्षेत्र छन् ।
स्थानीय तहको मत परिणामअनुसार प्रदेश र संघीय निर्वाचनमा पनि देउवाइतर गुटको वर्चस्व देखिएको छ । उक्त गुटको १ निर्वाचन क्षेत्र र ३ वटा प्रदेश सभा क्षेत्रमा बलियो मत रहेको अघिल्लो मत परिमाणले देखाएको छ । कँडेल गुट १ वटा निर्वाचन क्षेत्र र १ वटा प्रदेश सभामा अघि देखिएको छ । जिल्ला सभापतिमा पनि दुवै गुटले उम्मेदवार घोषणा गरिसकेका छन् ।

कँडेल गुटले शिक्षक संघका पूर्वअध्यक्ष मोहन शर्मा र अर्को वर्तमान जिल्ला उपसभापति अर्जुनकुमार पोखरेललाई अघि सारेका छन् । यद्यपि सभापतिका लागि महाधिवेशन प्रतिनिधिमा चयन हुनुपर्ने प्रावधान रहेकाले दुवै जनाको उम्मेदवारी चर्चामा मात्र सीमित छ ।
रुपन्देहीमा पनि क्षेत्रीय समिति र त्यसअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिको अधिवेशनको लागि देउवा समूह र रामचन्द्र समूहले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् । रुपन्देहीको स्थानीय तहमा पनि कांग्रेसमा देउवा गुुटको बलियो देखिएको छ भने क्षेत्रमा संस्थापनइतर पक्ष बलियो देखिएको छ । क्षेत्र नम्बर २ मा देउवा समूह धेरै कमजोर देखिन्छ ।
क्षेत्र नम्बर २ मा देउवा समूहबाट क्षेत्रीय सभापतिमा काजीमान श्रेष्ठ र पौडेल समूहबाट हरि लम्साल उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा क्षेत्रीय समिति ‘क’ को सभापतिमा खड्गबहादुर महत र ‘ख’ को सभापतिमा पर्शुराम ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको विधानअनुसार प्रदेश सभा क्षेत्रीय समितिका सभापति स्वतः प्रतिनिधिसभा क्षेत्रीय समितिको उपसभापति हुने व्यवस्था छ । रुपन्देही क्षेत्र नं. २ को दुई सचिव पदमा बिमलराज भट्टराई र कुलबहादुर केसी तथा सहसचिव पदमा राजबहादुर क्षेत्री र मिलन थापालाई अगाडि सारिएको छ ।
रुपन्देही क्षेत्र नं. २ (क) को उपसभापतिमा कृष्णप्रसाद ज्ञवाली र गणेश पाठक, सचिवमा बालकृष्ण अर्याल र राममाया पौडेल तथा सहसचिव पदमा सनत गौतम र विष्णुमाया चिदीलाई अगाडि सारिएको छ । रुपन्देही क्षेत्र नं. २ (ख) को उपसभापतिमा रवीन्द्रमान श्रेष्ठ र चिन्तामणि भुसाल, सचिवमा कमला न्यौपाने र कृष्णबहादुर केसी तथा सहसचिवमा शिव आचार्य र दीपक घिमिरेलाई अगाडि सारिएको छ ।
यस्तै श्रेष्ठ प्यानलबाट प्रदेश सभा ‘क’ मा माधवलाल देवकोटा तथा प्रदेशसभा ‘ख’ मा रामेश्वर श्रेष्ठले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टी विधानअनुसार प्रदेशसभा क्षेत्रीय समितिका सभापति प्रतिनिधि सभा क्षेत्रीय समितिमा स्वतः उपसभापति हुने व्यवस्था छ ।
प्रदेश सभा क्षेत्रीय समिति ‘क’ को उपसभापतिमा राजु गुरुङ र सीता गौतम खनाल, सचिवमा देवप्रसाद खनाल र असिम थापा तथा सहसचिवमा भेषराज पोखरेल र धनकुमारी खनाललाई अगाडि सारिएको छ । त्यस्तै प्रदेश सभा क्षेत्रीय समिति ‘ख’ को उपसभापतिमा सर्वजित केसी र प्रेमबहादुर बानियाँ, सचिवमा मीना जिसी र नारायण अधिकारी तथा सहसचिवमा नारायण खनाल र काशिराम शर्मा पौडेललाई अगाडि सारिएको उम्मेदवारी घोषणा गर्दै महासमिति सदस्य युवराज गिरीले जानकारी गराए ।
यस्तै कपिलवस्तुको पनि क्षेत्रीय सभापति र जिल्ला अधिवेशन चुनावी प्रतिस्पर्धा हुुने भएको छ । जिल्ला तहमा हुने अधिवेशनमा जिल्लामा त्रिपक्षीय प्रतिस्पर्धाको संकेत देखिएको हो । जिल्लाका १० पालिकामध्ये सबै पालिकामा चुनावबाट नेतृत्व छनोट भएको कांग्रेस कपिलवस्तुको सभापतिका लागि राजेश आचार्य, सुधाकर पाण्डे र अब्दुल कलामबीच प्रतिस्पर्धा हुने भएको छ ।
यी तीनजना नेताले फेसबुकमार्फत उम्मेदवारी घोषणा गरिसकेका छन् । पूर्वजिल्ला पार्टी सभापति भएका आचार्य र पाण्डेय यसपालि जिल्ला सभापतिको आकांक्षी देखिएका छन् भने कलाम वर्तमान उप–सभापति भएकाले स्वाभाविक रुपमा आफू सभापतिको उम्मेदवार रहेको बताउँदै आएका छन् ।
देउवानिकटका आचार्यले वडा अधिवेशनलगत्तै जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा लागे पनि रामचन्द्र पौडेल पक्षले आधिकारिक रुपमा उम्मेदवार खडा गरेको छैन । पाण्डेय र कलाम दुवै जना पौडेल निकटका हुन् ।