१० असार २०८३, बुधबार
चोरीको पैसामा मोजमस्ती

चोरीको पैसाले डिस्कोमा मोजमस्ती, केटी फेरी फेरी होटलमा बास; बचेको पैसाबाट पक्की घर !

मंसिर ३, २०७८
चोरीको पैसाले डिस्कोमा मोजमस्ती, केटी फेरी फेरी होटलमा बास; बचेको पैसाबाट पक्की घर !

गत साउन २१ गते राति काठमाडौंको सीतापाइलास्थित निर्मल गिरीको घरमा चोरी भयो ।

चोरले उनको घरमा भएको नगद र सुनचाँदीसहित करीब ३ लाख ५८ हजार रुपैयाँ बराबर चोरेर लग्यो । घरमा कोही नभएको समयमा चोरी भएको थियो ।

यसैगरी साउन महिनामै शंखमुलमा रहेको स्वविवेक वचत तथा ऋण सहकारी संस्थाको ढोका फोडेर १ लाख रुपैयाँ नगद चोरी भयो ।

वैशाखमा सीतापाइलामै शिवप्रसाद लामिछानेको घरबाट नगद र सुन चाँदी गरेर करीब १५ लाख बराबरको चोरी भएको थियो । 

असार महिनाको १९ गते सीतापाइलाकै बुद्धटोलमा रहेको कृष्ण लामाको घरमा ४ लाख ३० हजार रुपैयाँ बराबरको नगद र सुन चोरी भयो ।

२०७७ माघ १९ गते भने मूलपानीको देवी बचत तथा ऋण सहकारी संस्थाबाट नगद र ल्यापटप गरी २० लाख बराबरको चोरी भयो ।

चोरीका घटना उस्तैउस्तै प्रकृतिका थिए ।

कसले चोर्‍यो ? चोरीका सामान कहाँ बिक्री भए ? प्रहरीलाई टाउको दुखाइको विषय बनेको थियो ।

महानगरीय अपराध महाशाखाले उपत्यकाका पुराना चोरहरूलाई निगरानीमा पनि राखेको थियो, तर पछिल्लो समय उनीहरूको गतिविधि खासै शंकास्पद देखिएन ।

महाशाखाले आफ्नो अनुसन्धान भने निरन्तर जारी राख्यो ।

यसबीचमा काठमाडौंको कपन मिलनचोकस्थित एक सुन पसलमा चोरीका गरगहना बिक्री हुने गरेको थाहा पाएपछि प्रहरीले निगरानी बढायो ।

गतिविधि शंकास्पद पाइएपछि प्रहरीले पसल सञ्चालक पाँचथरको फाल्गुनन्द नगरपालिका वडा नम्बर ५ का हरिप्रसाद रसायलीलाई पक्राउ गर्‍यो ।

बयानका क्रममा उनले रामेछापको दोरम्भा गाउँपालिका–४ घर भएका ३१ वर्षीय कमल थापा मगर र धनबहादुर थापा मगरले आफूलाई सुन सस्तोमा दिने गरेको बताए ।

त्यसपछि प्रहरीले कमल र धनलाल दुवैलाई पक्राउ गर्‍यो ।

उनीहरूको दैनिकी सामान्य मानिसको भन्दा निकै फरक पाइयो ।

महंगा ब्राण्डका कपडा लगाउने, महंगो बाइक चढ्ने गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

उनीहरू कोटेश्वरको एउटा गेस्ट हाउसमा बस्दथे । त्यहीँबाट चोरी गर्ने योजना बनाउने गरेको खुलेको छ ।

उनीहरूले चोरीको पैसाले उपत्यकाका महंगा डिस्को बार र दोहोरी साँझमा पुगेर रमाइलो गर्ने गरेको पाइएको छ ।

‘उनीहरू होटलमा बसेर चोरीको योजना बनाउने र चोरीको पैसाले डिस्को बार र दोहोरीमा मोजमस्ती गर्ने गरेको पाइएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले लोकान्तरसँग भने, ‘उनीहरूले डिस्को र दोहोरीबाट फर्किँदा चोरी गर्ने गरेको बयान दिएका छन् ।’

त्यति मात्र होइन, उनीहरूले होटलमा बस्दा युवती पनि परिवर्तन गरी–गरी ल्याउने गरेका थिए । ‘होटलमा उनीहरूले दिनदिनै युवती फेरेर ल्याउँथे,’ होटल सञ्चालकले प्रहरीसँगको बयानमा भनेका छन् ।

मोजमस्ती गरेर बचेको पैसाले रामेछापमा पक्की घर बनाउँदै गरेको बयान धनबहादुरले दिएको प्रहरीले जनाएको छ ।

प्रमाण फेला नपर्दा कारवाही गर्न अप्ठ्यारो

अभियुक्तलाई अदालतमा दोषी करार गर्न प्रहरीलाई दसी (प्रमाण)को आवश्यकता पर्छ । चोरहरूलाई पक्राउ गरेपनि दसी जुटाउन भने अप्ठारो पर्ने गरेको छ ।

पीडितले उजुरी दिँदा भन्दा चोर पक्राउ गरेपछि चोरेको भनिएको नगद सामान थोरै देखिन्छ । त्यसमा पनि उनीहरूले सामान बिक्री गरिसकेको वा पैसा खर्च गरिसकेको खण्डमा प्रमाणहरू नष्ट हुने गर्दा कानूनी दायरामा ल्याउन समस्या हुने गरेको अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए ।

‘चोरीका अभियुक्तलाई दोषी करार गर्न निकै अप्ठ्यारो पर्छ, उनीहरूले चोरेका नगद खर्च र गरगहना तथा अन्य सामान बिक्री गरिसकेका हुन्छन्,’ एसपी कोइरालाले लोकान्तरसँग भने, ‘कहिलेकाहीँ पीडितले दिएको उजुरीमा भनिएको चोरीको सामान र चोरहरूले भन्ने सामान निकै अन्तर हुँदा झन् समस्या हुन्छ ।’

प्रमाण फेला नपर्दा चोरहरूलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरेर कारवाही अगाडि बढाउनुपर्ने अवस्था हुन्छ । छुटेपछि उनीहरू पुनः पुरानै धन्दामा फर्किने गरेको पाइएको छ ।

घरधनीको असावधानीले बढी चोरी

भनिन्छ ‘आफ्नो थैलीको मुख बाँधे चोरी हुँदैन’ अर्थात् आफ्नो सामानको सुरक्षा आफैँले गरेको खण्डमा चोरीको सम्भावना कम हुन्छ ।

चोरीको अपराधमा अनुसन्धान गरिरहेका एक प्रहरीको भनाइलाई आधार मान्ने हो भने अधिकांश चोरी घरधनी वा चोरी हुने व्यक्तिको असावधानीले गर्दा हुने गरेको छ ।

‘मानिसहरू बैंक, बैंकमा लकर हुँदाहुँदै लाखौं पैसा र गहना घरमै राखेर विदेश जाने गरेका छन्,’ ती प्रहरीले लोकान्तरसँग भने, ‘अहिलेको जमानामा पनि बहुमूल्य वस्तु घरमा राख्दा जहिले पनि जोखिम हुन्छ नि !’

प्रहरीले गरेका अधिकांश अनुसन्धानमा घरधनीको असावधानीले गर्दा चोरी भएको देखिएको छ ।

प्रहरीका अनुसार उपत्यकामा बहुमूल्य वस्तु र पैसा घरमै राखेर ३/४ महिनासम्म विदेशमा बस्नेहरू प्रायः चोरको निशानामा पर्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्