काठमाडौं, ११ असार -१४ असारमा हुने स्थानीय तह दोस्रो चरण निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू अन्तिम कसरतमा दलहरू जुटेका छन्, राजधानी दैनिकमा खबर छ ।

प्रदेश–१, ५ र ७ गरी ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा नौ वटा दलले चुनावी तयारीलाई अन्तिम चरणमा पु-याएका छन् । मौन अवधि सुरु हुन एक दिन बाँकी रहँदा सबैजसो दलका शीर्ष नेतृत्व जिल्लाजिल्लामै प्रचारप्रसारसहितका चुनावी सभामा केन्द्रित भएका छन् ।
बुधबार हुने दोस्रो चरणको निर्वाचनलाई आफ्नो पक्षमा पार्ने रणनीतिसहित सबैजसो राजनीतिक दलका शीर्ष नेतृत्व केही दिनअघि बाटै जिल्ला दौडाहामा छन् ।
मतदातालाई विभिन्न एजेन्डा देखाएर दलहरूले यतिबेला आफ्ना उम्मेदवारहरूलाई मत मगिरहेका छन् । आइतबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले मत माग्न तथा निर्वाचनको प्रसारप्रसार गर्न नपाइने हुँदा पनि आइतबार अन्तिम प्रचारप्रसार हुँदै छ ।
स्थानीय स्तरमा पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारलाई मत माग्न सबैजसो दलका नेताहरूलाई पार्टीले जिल्ला कमान्डरसहित नै जिम्मेवारीमा खटाएको छ ।