
नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।
मंगलवार पनि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीवार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो ।
धर्नामा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरु समेत संलग्न रहने जानकारी दिए ।
उनले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अब सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको स्पष्ट पारे । अध्यक्ष श्रेष्ठले बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने पनि बताए ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले अदालत परिसरभित्र न्यायपरिषद्माथि लाठी प्रहार गर्नु न्यायपालिकाको न्याय मर्नु रहेको बताए ।
‘संसारमा मैले अध्ययन गर्दा २१९ राष्ट्रको न्यायपालिका के रहेछ भन्दा न्यायपालिकाको ढोकाभित्र आएर प्रहरीले हस्तक्षेप गर्ने कुरा निरंकुश शासकको ठाउँमा पनि हुँदो रहेनछ,’ उनले भने, ‘त्यसैले जहाँ वकील उभिन्छ, कालोकोट उभिन्छ त्यहाँ रक्षा कवच जस्टिसको लयरले गर्छ, सेक्युरिटीको नाममा अदालत परिसरभित्र न्यायपरिषद्माथि लाठी प्रहार गरिन्छ भने त्यो न्यायमाथिको न्याय मार्नु हो, न्याय अन्त्य हुनु हो ।’
वरिष्ठ अधिवक्ता ज्ञवालीले नेपाल बारलाई बिहीवारबाट कालोपट्टी बाँधेर एक घण्टा नबोली धर्ना दिने कार्यक्रम राख्न आग्रह गरेको पनि बताए ।