
गृहमन्त्री बालकृष्ण खाँणले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन् ।
नेपालको राष्ट्रियता, शान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाँणले बताए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मर्चवारीमा रहेको मर्चवारी माइ मन्दिरमा पूजाआजापछि नेपाली कांग्रेसका नेता/कार्यकर्तासँगको भेटघाटमा सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाल मिचिनबाट जोगाएको बताए ।
सीमामा बसोबास गर्ने नेपालीले सीमा क्षेत्रमा रहेको खेत, खलिहान, आली, बगैंचा लगायतका स्थललाई मेरो हो भन्दै जोगाएकाले आज पूरा देश जोगिन पुगेको गृहमन्त्री खाँणको भनाइ थियो ।
हिउँदे बाली लगाउने बेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या छिटो समाधान गर्ने बताएका छन् । रुपन्देहीको मर्चवारमा भएको कार्यकर्ता भेटघाटमा गृहमन्त्री खाँणले रासायनिक मल छिटोभन्दा छिटो उपलब्ध गराउने बताए ।
गृहमन्त्री खाँणले सरकारले कृषि र शिक्षालाई बढावा दिने गरी काम गरिरहेको बताए । ‘हामीले रासायनिक मल आयातमा देखिएको समस्या समाधानको प्रयास गरिरहेका छौं,’ उनले भने, ‘केही समयमा मल उपलब्ध हुन्छ । कोटहीमाईमा प्राविधिक शिक्षालय निर्माण गर्ने, सडक, खानेपानी र बिजुली लगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।’
गृहमन्त्री खाणसँग रुपन्देही–४ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद प्रमोद यादव, लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकुदमन्त्री बसिउद्दिन खाँ र लुम्बिनी प्रदेश सांसद अष्टभुजा पाठक सहभागी थिए ।
हरेक नेपालीको जीवन रक्षा गर्नु नेपाल सरकार र नेपाली कांग्रेसको पहिलो लक्ष्य रहेको गृहमन्त्री खाँणले बताए ।
विक्रम संवत् २०४८ सालभन्दा पहिला विकासको गति धेरै न्यून रहे पनि २०४८ सालको बहुदलीय व्यवस्था आएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले व्यवस्थित तरिकाले अर्थतन्त्रलाई उठाउने काम गरेको उनले बताए ।
भैरहवा–काठमाण्डौ विमानले हप्तामा २ पटक मात्र सेवा दिने अवस्थाबाट नेपाली कांग्रेसले विभिन्न किसिमका संघर्ष गरी दैनिक सञ्चालन गर्ने व्यवस्थापन गरेको समेत उनले बताए ।