२९ असार २०८३, सोमबार

फोहरबाट कमाइ गर्दै नमोबुद्धका महिला

फोहरबाट कमाइ गर्दै नमोबुद्धका महिला
प्रतिकात्मक तस्वीर

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका महिला फोहर वस्तु पुनः प्रयोग गरी आर्थिक लाभ लिन थालेका छन् ।

उनीहरूलाई आयआर्जन गर्ने विधि सिकाएर आम्दानीको बाटो देखाउने काम शुरू भएको छ । 

नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहरलाई ‘मोहर’ बनाउने अभियानअनुरूप महिलालाई त्यससम्बन्धी तालिम प्रदान गरेको छ । घर तथा टोलमा फालिएका प्लास्टिकबाट सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेपछि अहिले नगरभित्रका १८ महिला सो तालिम लिइरहेका छन् ।

‘हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार’ नारासहित नगरपालिकाले विभिन्न वडाबाट महिलाको प्रतिनिधित्व गर्ने गरी सहभागी गराएर तालिम प्रदान गरेको हो ।

नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारका अनुसार विपन्न महिलालाई स्वरोजगार बनाउने तथा वातावरणमैत्री नगरको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् । 

तालिममा खेर जाने र जथाभावी फालिएका प्लाष्टिकको सदुपयोग गर्दै दैनिक उपयोगका सामग्री बनाउँदा त्यसले महिलाको आयआर्जन बढाउनुका साथै आवश्यक सामग्री खरिदका लागि हुने खर्चबाट समेत जोगाउने उनको भनाइ छ ।

तालिममा सहभागी महिलाले चाउचाउ, बिस्कुट लगायतका विभिन्न सामग्रीका प्लास्टिकका खोलबाट चकटी, गुन्द्री, ढकी, कलश लगायतका सामग्री बनाउन सिकिरहेका छन् । त्यसरी बनाइएका सामग्री दैनिकरूपमा घरमै उपयोग गर्न सकिन्छ भने बजारमा बिक्री गरेर आम्दानी गर्न सकिने छ । तालिममा सहभागी महिलाले सीप सिकेसँगै उनीहरूले उत्पादन गरेका सामग्रीको थप बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने सुनुवारले बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्