
नेकपा एमालेको प्रचार विभागले मंगलवार पार्टी अध्यक्ष केपी शर्मा ओली र मिडियाका सम्पादकहरूबीच संवादका लागि आयोजना गरेको अन्तरक्रियामा ओलीले नेतृत्वमा जान चाहने नेताहरूको अवसरलाई नरोक्ने बताए ।
उनको भनाइ थियो, ‘सहमति सबैभन्दा राम्रो विकल्प हो । तर, सहमति भनेर लोकतान्त्रिक अभ्यासलाई अलिकति पनि नजरअन्दाज गर्न मिल्दैन । प्रतिस्पर्धीहरूको बीचमा सहमति हुन्छ भने मलाई खुशी नै लाग्छ ।’
महाधिवेशनमार्फत नेतृत्व लिन चाहने व्यक्तिलाई दबाब पर्ने र करकाप हुने कुनै काम आफूले नगर्ने उनले बताए । तर, उम्मेदवारको बीचमा सहमति हुँदा खुशी नै हुने भनेर उनले महाधिवेशनबाट सहमतिबाटै नेतृत्व चयन गराउने संकेत पनि उनले दिएका छन् ।
एमालेमा संस्थापन पक्षमा रहेका नेताहरू पार्टीलाई एकताबद्ध बनाउनका लागि सहमतिमा नेतृत्व छान्नुपर्ने तर्क गर्छन् । ओलीले अहिलेको एमालेलाई तत्कालीन नेकपाको निरन्तरता भन्दै आएका छन् । तत्कालीन नेकपामा रहेका पूर्व माओवादी नेताहरू एमालेमा आएकाले ओलीले उनीहरूलाई एकताको पक्षमा भएको नेता भन्ने गरेका छन् ।
उनीहरूप्रति ओलीको सद्भाव पनि देखिन्छ । त्यसबाहेक, एमालेको अन्तर्विरोधका बेला १० बुँदे सहमति मान्दै मूल पार्टी एमालेमै रहेका नेताहरूको व्यवस्थापनका लागि पनि महाधिवेशन हलमा सर्वसम्मत अभ्यास गरिने एमाले नेताहरूको आकलन छ ।
सेलेक्सन कि इलेक्सन ?
एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हो । जसले, लोकतान्त्रिक अभ्यासको वकालत गर्छ । यसले नेताको छनौट गर्न (सेलेक्सन) भन्दा निर्वाचन (इलेक्सन)लाई महत्त्व दिन्छ । तर, एमाले नेतृत्व पक्ष भने एकताको महाधिवेशन भनेर महाधिवेशनमा ‘उच्च समझदारी’का साथ नयाँ नेतृत्व चयन गर्ने पक्षमा देखिएको छ ।
एमाले अध्यक्ष केपी ओलीले केही समयअघि सम्पन्न एमालेको देशभरको वडा र पालिका अधिवेशन केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै नेतृत्व चयनमा ‘उच्च समझदारी’ कायम गर्न भनेका थिए । प्रतिनिधि चयनमा पनि केही अपवादबाहेक निर्वाचन हुन पाएन । यही उच्च समझदारी आगामी महाधिवेशनको बन्दसत्रमा पनि अभ्यास हुने देखिएको छ ।
कम्युनिस्ट पार्टी सञ्चालनको मर्म भनेकै जनवादी केन्द्रीयता हो । जनवादी केन्द्रीयताको अर्थ भनेकै निर्णय गर्ने बेलामा व्यापक सहभागिता र छलफलमा निर्णय लिने तथा कार्यान्वयनमा जाँदा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने/गराउने हो । त्यसमाथि, एमालेले बहुदलीय जनवाद मान्छ । त्यसर्थ, निर्वाचन नै उक्त पार्टीको पहिचान हो ।
निर्वाचन (इलेक्सन) हुँदा प्रतिनिधिले विवेक प्रयोग गर्ने अवसर पाउँछन् । योग्यता, क्षमता भएका र प्रतिनिधिका मन जितेका व्यक्ति नै नेतृत्वमा आउँछन् । तर, सहमति गर्दा नेतृत्वले रूचाएको व्यक्ति छनौट हुने हो ।
एमालेमा ‘उच्च समझदारी’को अभ्यास गर्दा आन्तरिक लोकतन्त्रको अभ्यास हुन नपाउने देखिएको छ । पार्टीको विचार र नेतृत्वको लोकतान्त्रिक अभ्यास हुने थलो भनेकै महाधिवेशन हो । एमालेको भर्खरै सकिएको विधान महाधिवेशनमा पनि १० वटा समूह बनाएर छलफल गराइएको थियो । तर, ती समूहको नेतृत्व पहिल्यै तोकिएको थियो । त्यसअघिका महाधिवेशनमा समूह सदस्यले नै टोली नेता चयन गर्ने र छलफलका निष्कर्ष उसैले प्लेनरीमा प्रस्तुत गर्ने एमालेको अभ्यास थियो ।
तर, टोली नेता छान्न धेरै समय लाग्ने र छलफलको समय कम हुने तर्क गरेर नेतृत्वले नै समूह नेता छानिदिएको थियो । ती नेताले निष्कर्ष प्रस्तुत गर्दा समूहमा उठेका सबै कुरा नसमेटेको गुनासो प्रतिनिधिहरूले गरेका थिए । समूहले नै नेतृत्व छान्न पाउने अभ्यास कुन्ठित भएको उनीहरूको तर्क थियो ।
दशौं राष्ट्रिय महाधिवेशनमा पनि नयाँ नेतृत्व चयनका क्रममा केन्द्रीय नेतृत्व नै हावी हुने डर प्रतिनिधिहरूमा छ । भूगोलमा राजनीति गरिरहेका र केन्द्रीय नेतृत्वसँग बाक्लो हिमचिम नभएका तर केन्द्रीय सदस्य बन्न चाहने प्रतिनिधिहरू सेलेक्सनको डरमा छन् ।
सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि बनेर आएका एक प्रतिनिधि भन्छन्, ‘निर्वाचन हुँदा राम्रो मत ल्याएर केन्द्रीय सदस्य जितिन्छ भन्नेमा ढुक्क प्रतिनिधिहरू पनि सहमतिमा नेतृत्व छान्दा आफ्नो नाम नपर्ने डरमा छन् । उनीहरूको चाहना निर्वाचन नै भए हुन्थ्यो भन्ने छ ।’
निर्वाचन हुँदा बढारिने डर
एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केही नेताहरूले उपाध्यक्ष र सचिव पदमा दाबेदारी प्रस्तुत गरिरहेका छन् । त्यसो हुँदा निर्वाचनबाटै नेतृत्व चयन हुने हो कि भन्ने कतिपयको आकलन छ । तर, एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा रहेका एक नेता भने निर्वाचनमार्फत नेतृत्व चुनिने सम्भावनालाई महत्त्व दिँदैनन् ।
‘दशौं महाधिवेशन एकताको महाधिवेशन हो । निर्वाचन हुने सम्भावना कम देख्छु । एमाले नेता व्यवस्थापन गर्ने पार्टी होइन, तर पार्टी निर्माणका लागि उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिनुपर्छ । अहिलेको अवस्थामा छ विशेष ख्याल गरेर जिम्मेवारी दिनुपर्ने अवस्था छ’, ती नेताले भने ।
अहिले केन्द्रीय सदस्य रहेका र महाधिवेशनबाट सचिव बन्ने दाबी गरेका एक केन्द्रीय सदस्य पनि अन्तिम समयमा खुला केन्द्रीय सदस्यमा मात्रै चुनाव हुनसक्ने सम्भावना रहेको बताउँछन् ।
‘निर्वाचन गर्दा संस्थापन निकटका व्यक्ति मात्रै छानिने सम्भावना छ । बलियो गुट नभएकाहरू स्वतः बाहिरिन्छन् । त्यसरी त पार्टी बन्दैन । त्यसैले, निर्वाचनबाट भन्दा समहमतिबाटै नेतृत्व छानिने सम्भावना बढी छ’, ती केन्द्रीय सदस्यले भने ।