
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैंले छाडेको ब्रम्हास्त्र लागेर सत्तारुढ पाँच दल छट्पटिएको बताएका छन् ।
साइबर सर्कलको घोषणा सभालाई बुधवार सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले गलत ठाउँमा ब्रम्हास्त्र प्रयोग गरेको बताएका हुन् ।
‘ताजा जनादेशका लागि जान नदिने, परमादेशबाट सरकार फेर्ने बदल्ने संसदलाई केही थाहै छैन, दुनियाँमा कहीँ हुन्छ त्यस्तो ?,’ उनले भने, ‘प्रयोग गर्न नहुने अस्त्रहरू प्रयोग गरिएका छन् । अन्तिममा प्रयोग गरिने ब्रम्हास्त्र गलत ठाउँमा प्रयोग गरेकाले अस्वस्थामाको जस्तै ५ दलको आफ्नै निधारमा फर्कियो ।’
उनले सत्ता गठबन्धनले सकेदेखि चुच्चे नक्शा च्यात्ने आरोप पनि लगाए । ‘यिनीहरूले सकेदेखि धरहरा ढाल्थे, रानीपोखरी पुर्थे, जनता जिउँदैछन् नत्र चुच्चे नक्शासमेत च्यात्थे,’ उनले भने, ‘धरहराको फोटो मात्रै पायो भने पनि लुकेर कसैले नदेख्ने गरी च्यात्थे ।’