
वीरगञ्ज पब्लिक कलेजमा व्यावसायिक एवं उद्यमशीलताका शिक्षालाई थप प्राथमिकता दिने उद्देश्यले नबिल बैंकसँग सहकार्य हुने भएको छ ।
यसका लागि ती २ निकायबीच सम्झौता समेत भएको हो ।
निजी क्षेत्रको बैंक नबिलको सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कूल अफ सामाजिक उद्यमीअन्तर्गत प्रदेश नम्बर २ का लागि कलेज र बैंकबीच यस्तो सम्झौता भएको छ ।
कार्यक्रमअन्तर्गत प्रदेश नम्बर २ का १८–६० वर्षसम्मका उद्यमशीलतामा रुचि राख्ने र समाजलाई सकारात्मक योगदान गर्न चाहने व्यक्तिलाई उद्यमशीलतासम्बन्धी विविध तालिम दिने उद्देश्यले सम्झौता भएको हो ।
स्थापनाकालदेखि नै आधारभूत शिक्षासँगसँगै व्यावहारिक शिक्षा प्रदान गर्दै आइरहेको कलेजले अहिलेको समयमा व्यावसायिक एवं उद्यमशीलताका शिक्षाले मात्र देश अनि समाजलाई आर्थिकरूपमा सबल बनाउन सक्छ भन्ने उद्देश्यले विभिन्न व्यावसायिक एवं व्यवसायी बनाउने तालिम प्रदान गर्दै आएको छ ।
वीरगञ्जमा कुशल व्यवस्थापक र मानवीय व्यावसायिक स्रोतको उत्पादन गर्ने लक्ष्यसहित सो कलेज विक्रम संवत् २०५७ सालमा स्थापना भई व्यवस्थापनमा प्लसटु, बीबीए, बीबीएस, बीआईएम, एमबीए, एमबीएसको अध्ययन भइरहेको गुणस्तरीय पठनपाठनमा काठमाडौं बाहिरका कलेजमा उत्कृष्टता प्रदान गर्दै आएको हो ।