
चामल ढुवानी सम्बन्धी ठेक्कामा अनियमितता गरिएको भन्दै परेको रिटमा यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता नदिएपछि अब हुम्लामा चामल आपूर्ति सहज हुने भएको छ ।
निजी विमान सेवा प्रदायक कम्पनी समिट एयरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसहित ५ निकायलाई विपक्षी बनाई दर्ता गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।
उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रप्रसाद उपाध्याय र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले आइतवार सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरिरहनु परेन भन्दै आदेश गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लामा चामल ढुवानीका लागि श्रीर्मिका एयर कार्गोलाई छनोट गरेर सम्झौता गरेको थियो । प्रतिस्पर्धामा सहभागी भएका सीता एयर, तारा एयर र समिट एयरको बोलपत्र प्रभावग्राही नभएको भन्दै कम्पनीले चामल ढुवानीका लागि श्रीर्मिकालाई छनोट गरेको थियो ।
ठेक्का नपाएपछि समिट एयरले कम्पनीसहित ५ जनालाई विपक्षी बनाई ठेक्का प्रक्रियामा कम दर प्रस्ताव गर्दा पनि ठेक्का नपाएको भन्दै उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो ।
रिटको प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले तत्काल ढुवानीको काम शुरू नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई मंसिर १२ गते छलफलका लागि बोलाएको थियो । सोही क्रममा आइतवार सुनुवाइ गर्दै उच्च अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वितरण शाखा प्रमुख भीमबहादुर थापाले अदालतको पछिल्लो आदेश हुम्लाका जनताको पक्षमा भएको बताए । ‘भोलि नै १० बजे पुगेर हामी आदेशको प्रतिलिपि लिएर अदालतको आदेश अनुसार हुम्लामा चामल आपूर्ति गराउने काममा लाग्छौं,’ थापाले लोकान्तरसँग भने, ‘अब हुम्लाको जनताले भात खान पाउनेछन् ।’
अब श्रीर्मिका एयर कार्गो कम्पनीले सुर्खेत र नेपालगञ्जबाट हवाइ मार्ग हुँदै हुम्लाको सिमिकोटमा चामल ढुवानी गर्नेछ ।
ढुवानीको एकाधिकार तोडिएपछि समिटको 'दादागिरी', साउनदेखि नै हुम्लामा चामलको हाहाकार !