
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको खाकाबारे अध्यक्ष मण्डलमा छलफल गर्दैछन् ।
पार्टीको १०औं महाधिवेशनको बन्दसत्रमा पार्टी पदाधिकारी र सदस्यहरूको नाम प्रस्ताव गर्नुअघि ओलीले अध्यक्षमण्डलमा छलफल गर्ने भएका हुन् ।
यसअघि शनिवारको बन्दसत्रले पदाधिकारी र सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई दिएको थियो । ओलीले आफूनिटक नेताहरूको परामर्शमा पदाधिकारी र सदस्यको सूची तयार पारेर छलफलका लागि अध्यक्षमण्डलमा ल्याएका छन् ।
अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न तम्सिएका भीम रावल समेत अध्यक्षमण्डलका सदस्य भएकाले छलफलमा सहभागी हुँदैछन् । रावलले निर्वाचन प्रक्रिया अगाडि बढाउन आवाज उठाइरहेका छन् भने ओली लगायत अधिकांश नेताले सहमतिका लागि प्रयास गरिरहेका छन् ।
ओलीको प्रस्तावमाथि अध्यक्षमण्डलमा छलफल गर्न समय चाहिएकाले बन्दसत्र १ घण्टा ढिला शुरू हुने भएको स्रोतले जनाएको छ । यसअघि बन्दसत्र ७ बजेदेखि शुरू हुने भनिएको थियो ।