२७ जेठ २०८३, बुधबार

बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

मंसिर १२, २०७८
बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

हिमाली जिल्ला मनाङका बाढीपहिरो पीडितलाई राहतस्वरूप रकम वितरण गरिएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले यहाँका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि रकम हस्तान्तरण गरेको हो ।

प्रतिघरधुरीलाई रु दुई लाखका दरले मनाङका ७४ घरधुरीलाई राहत रकमस्वरूप घर बनाउन उक्त रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार प्रतिघरधुरी रु दुई लाखका दरले रु एक करोड ४८ लाख विशेष राहतअन्तर्गत रकम वितरण गरिएको छ । “बाढीपहिरोबाट पूर्ण क्षति पुगेका घर परिवारका लागि राहतस्वरूप रकम वितरण गरिएको हो । आंशिकरूपमा क्षति पुगेका घर परिवारलाई राहत दिने विषयमा टेवल हुन बाँकी रहेकाले पूर्ण क्षति पुगेका घर परिवारलाई मात्र यो विशेष प्याकेजका रूपमा राहत वितरण गरिएको छ”, प्रजिअ आचार्यले भने । 

पूर्ण क्षति पुगेका घर परिवारलाई प्रदेश आर्थिक मामिलामन्त्री रामजी बरालले आज बाढीपहिरोले क्षति पुगेको स्थलमा पुगेर राहत हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा उनले विशेष प्याकेजका रूपमा प्रदान गर्ने भनेर घोषणा गरिएको रकम वास्तविक बाढीपहिरो पीडितसमक्ष पुर्‍याउने लक्ष्यका साथ प्रदान गरिएको बताए । उनले विशेष प्याकेजको यो रकमले घरबार पूर्ण क्षति भएका परिवारलाई राहत पुग्ने विश्वास लिए । ढिलै भए पनि यहाँका जनताको घाउमा मलम लगाउने कार्य गरिएको उनले बताए । 

पर्यटकीय क्षेत्र मनाङको कोरोनासँगै बाढीपहिरोले क्षति पुर्‍याउँदा प्रदेशको आर्थिकस्तरमा प्रभाव पारेको उनको भनाइ थियो । यसको विकासका लागि सरकार प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । तत्काल राहत पुर्‍याउन मुस्किल भए पनि ढिला गरी बाढीपहिरो समक्ष पुर्‍याउन सकिएको उनले बताए । 

प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले पर्यटन, सामुदायिक आवास, निजी आवासलगायत विभिन्न किसिमका क्षेत्रमा क्षति पुगेकाले सहयोगका लागि प्रदेश सरकार लागिपरेको बताए । उनले मनाङको क्षतिको पूर्ति गर्नका लागि आवश्यक स्रोतको खोजी कार्य भइरहेको बताए । 

बाढीपहिरोका कारण मनाङको पर्यटकीय क्षेत्रमा जति पर्यटक भित्रिनुपर्ने हो, त्यति मात्रामा भित्र्याउन नसकिएको उनको भनाइ थियो । यस जिल्लाको मुख्य आम्दानी नै पर्यटन क्षेत्र भएकाले यसलाई उठाउने कार्यमा लाग्न आवश्यक रहेकोले प्रदेश सरकार पनि लागि परेको घलेले बताए । 

गत जेठ १४ र असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढापहिरोले जिल्लाका निजी आवासमा पूर्ण क्षति पुगेका परिवारलाई राहत वितरण गरिएको हो । मनाङमा बाढीपहिरोले क्षति पुर्‍याएपश्चात मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष प्याकेजका रूपमा राहत पीडितसमक्ष पुर्‍याउने घोषणा गरेका थिए । 

सोही अनुरूप प्रदेश सरकारले राहत जनतासामु पुर्‍याएको हो । आंशिक क्षतिको आवश्यक मात्रामा तथ्याङ्क सङ्कलन गरी राहतको व्यवस्थापन गर्ने गण्डकी सरकारको लक्ष्य रहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्