
नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिन लागेको कुरा बन्द सत्रमा राखेका छन् ।
बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यको सूची पेश गरेपछि बोलेका रावलले मनोनयनको शैलीमा विमति जनाएका हुन् ।
‘प्रक्रियाको कुरा गरेर विपक्षीलाई हँसाउन खोजेको होइन, अधिवेशनका सार्वभौम प्रतिनिधिले चुन्ने र चुनिने अधिकार राख्छौँ । लोकप्रियता परिक्षण गर्न नपाउने प्रणालीमा मेरो सहमति छैन । अध्यक्षको उम्मेदवारको रुपमा जान्छु,’ रावलले भनेका थिए । बन्दसत्रमा जानुअघि पत्रकारहरुसँग रावलले उम्मेदवारी दिन फाराम भरिसकेको बताएका थिए ।
रावल बोल्दै गर्दा प्रतिनिधिले बन्दसत्रको हलभित्र नाराबाजी गरेका थिए ।
उनीहरुले रावल एक्लैको लागि चुनाव गर्न नसकिने बताएका हुन् । राति पौने ३ बजेको समयमा ओलीले पार्टीको निर्वाचन आयोगका अध्यक्ष वियज सुब्बालाई सोधी खोजी गरेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको कार्यक्रम सोमवार ९ बजेसम्मको लागि स्थगित गरेको छ ।
बन्दसत्रमा ओलीले ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए । सो सूचीलाई बन्दसत्रबाट अनुमोदन गरिएको छ ।