०९ असार २०८३, मंगलबार

मोरङ कांग्रेसको सभापतिका लागि फेरि मतदान हुने

मंसिर १३, २०७८
मोरङ कांग्रेसको सभापतिका लागि फेरि मतदान हुने

मोरङमा कांग्रेस सभापतिका लागि पुनः मतदान हुने भएको छ ।

आइतवार भएको मतदानमा जिल्ला सभापतिका उम्मेदवारले कांग्रेसको विधानअनुसार ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।

१४औं महाधिवेशन अन्तर्गत मोरङमा नेतृत्व चयनका लागि सोमवार मतदान भएको थियो । ३ हजार ५५२ मतदाता रहेकोमा ३ हजार ४१४ मत खसेको थियो ।

सभापति पदका लागि ३ हजार ३६० मत खसेको थियो । जसमा संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १६६ मत प्राप्त गरेका थिए भने संस्थापनइतर समूहका डिगबहादुर लिम्बुले १ हजार ५४४ मत प्राप्त गरेका थिए । नेता कृष्णप्रसाद सिटौला समूहका यदु विष्टले ५६३ मत प्राप्त गरेका थिए ।

दोस्रो चरणमा पहिलो र दोस्रो भएका लिम्बु र गच्छदारबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन् । तीनै जनाले खसेको मतको ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए ।

‘उहाँहरू आफैं सहमति गरेर आउनुभयो भने निर्वाचन गर्नुपर्दैन,’ उनले भने, ‘नत्र फेरि अरू निर्वाचनलाई असर नगर्ने गरी निर्वाचनको मिति तय गरेर निर्वाचन गराउँछौं ।’ 

अन्य पदको मतगणना केहीबेरपछि गर्न थाल्ने उनले बताए । मोरङलाई संस्थापनइतर समूहको प्रभाव क्षेत्र मानिन्छ । विश्वेश्वरप्रसाद, गिरिजाप्रसाददेखि शेखर कोइरालाले राजनीति गरेकाले संस्थापन इतर समूहलाई सहज भए पनि तेस्रो धारका सिटौला समूहका विष्टले मत काटेपछि लिम्बुलाई धक्का पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्