०४ साउन २०८३, सोमबार

स्वास्थ्यमन्त्रीको निर्देशनपछि गंगालाल अस्पतालमा पीसीआर परीक्षण शुल्क १ हजार

मंसिर १३, २०७८
स्वास्थ्यमन्त्रीको निर्देशनपछि गंगालाल अस्पतालमा पीसीआर परीक्षण शुल्क १ हजार

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह १ हजार रुपैयाँ कायम गरिएको छ ।

सरकारी र निजी स्वास्थ्य संस्थामा पीसीआर परीक्षणबापत लिइएको शुल्कमा एकरूपता कायम गर्न र अस्पतालमा पनि अन्य सरकारी अस्पतालमा सरह शुल्क निर्धारण गर्न निर्देशन दिएपछि सोमबारवाट सो व्यवस्था कार्यान्वयनमा आएको हो ।  
 
गंगालाल अस्पताल सञ्चालक समितिको अध्यक्षका हैसियतले मन्त्री खतिवडाले अस्पतालमा पीसीआर परीक्षण शुल्क १ हजार ७०० रुपैयाँ लिँदै आएकामा  एकरूपता नभएको भन्दै सुलभ मूल्य कायम गर्न निर्देशन दिए ।

अहिले केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिल लगायतका सरकारी अस्पतालमा १ हजार रुपैयाँ कायम छ भने विदेश जानेका लागि त्रिभुवन विमानस्थल परिसरमै निजी संस्थाले १ हजार २०० रुपैयाँ लिइरहेका छन् । 

स्वास्थ्य मन्त्रीको निर्देशन र अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको तत्परतापछि आवश्यक प्रक्रिया पूरा गरी सोमवारबाटै लागू हुने गरी १ हजार रुपैयाँमै पीसीआर परीक्षण शुल्क तोकिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ ।

मुटुको शल्यक्रिया गर्ने बिरामीको पीसीआर गर्दा शुल्क १ हजार रुपैयाँ मात्र लिन मिल्ने गरी विलिङ र सफ्टवेयर प्रणाली सोमवारबाटै कार्यान्वयनमा आएको र यसले सर्वसाधारणलाई राहत पुगेको स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।

सरकारी अस्पतालमा इमर्जेन्सी सेवा निःशुल्क, सर्वसाधरणको सहज पहुँच र सेवा सुविधा पारदर्शी गर्ने सम्बन्धमा पनि छिट्टै निर्णय हुने उनले बताए । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अस्पतालका निर्देशक डा. अधिकारीलाई स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन तत्काल कार्यान्वयन गरी नागरिकप्रति उत्तरदायी बन्न तथा पीसीआर परीक्षण शुल्क १ हजार रुपैयाँ कायम गर्न निर्देशन दिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्