
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रहका उपाध्यक्ष भीम रावलले केपी ओली पक्षबाट प्यानल सूची वितरण भएपछि विरोध गरेका छन् । उनले प्यानल सूची वितरणको विरोध गर्दा जाइलाग्ने कार्य भएको समेत बताएका छन् ।
ट्वीटरमार्फत उनले उक्त कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने भन्दै यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् । ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु’, उनले भनेका छन्, ‘उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’