
सामाजिक सञ्जाल ट्विटरले पराग अग्रवाललाई नयाँ सीईओ बनाएको छ ।
सीईओ बनेलगत्तै परागको १० वर्ष पुरानो ट्वीट भाइरल बनिरहेको छ ।
उनले गोरा मानिस र मुसलमानहरूका विषयमा ट्वीट गरेका थिए ।
ट्वीट भाइरल भएपछि अमेरिकाका दक्षिणपन्थीहरू परागलाई ट्रोल गरिरहेका छन् । यस ट्वीटबाट जातिवाद झल्किने उनीहरूको भनाइ छ ।
सन् २०१० को अक्टोबर २६ मा परागले कमेडियन आसिफ मांडवीको शोका विषयमा ट्वीट गरेका थिए । उनले अमेरिकाका गोराहरूका बारेमा लेखेका थिए, ‘तपाईं मुसलमान र उग्रवादीहरूबीत फरक छुट्ट्याउन सक्नुहुन्न भने म गोरा मानिस र जातिवादीहरूबीच भेद किन गरौं ?’
पराग गोराविरोधी भएको भनी दक्षिणपन्थीहरूले घेरिरहेका छन् ।
ट्विटरले श्वेत सर्वोच्ततावादीहरूप्रति कठोर नीति अपनाउने गरेकाले उनीहरू ट्विटरको ससानो गल्ती पनि खोजिरहेका हुन्छन् । ज्याक डोर्सीका उत्तराधिकारी पराग आएपछि ट्विटरको सेन्सरशिप झनै कडा बन्ने बताइएको छ ।
आईआईटी बम्बेबाट पढाइ सकेका पराग अग्रवालले स्ट्यानफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । सन् २०१८ मा उनी एडम मेसेन्जरको स्थानमा चीफ टेक्नोलोजी अफिसर बनाइएका थिए । उनले माइक्रोसफ्ट रिसर्च र याहूमा पनि काम गरिसकेका छन् ।