
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक चुनावतर्फ गएको बताएका छन् ।
बुटवलमा माओवादी नेता स्व. रामप्रसाद बञ्जाडेको श्रद्धाञ्जली सभामा बोल्दै उनले दलहरू महाधिवेशनमा गएको र ती महाधिवेशनले चुनावी तयारी गर्न थालिसकेको बताए ।
‘मुलुक चुनावतिर गइसकेको संकेत दलका महाधिवेशनहरूका गतिविधिले गरिरहेका छन्,’ उनले भने, ‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ ।’
उनले समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको बताए ।
‘संविधानको समावेशी र समानुपातिक मूल्यमान्यतालाई आत्मसात् गर्दै जनताका चाहना पूरा गर्न सहकार्य र सहमतिको खाँचो छ,’ उनले भने ।
उनले नेता बञ्जाडेको योगदानको चर्चा गर्दै योद्धाहरूको सपना पूरा गर्नका लागि माओवादी प्रतिबद्ध रहेको बताए ।
नेता बञ्जाडेको बुटवलमा दुर्घटनामा परी मृत्यु भएको थियो । बिहान रूपन्देही आएका प्रचण्ड आजै रूपन्देहीमै कार्यकर्तालाई प्रशिक्षण दिने र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन् ।