
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा विभिन्न आयोगका अध्यक्ष र सदस्यहरूमा निर्वाचित नेताहरूको नामावली औपचारिक रूपमा घोषणा भएको छ ।
पार्टीको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निर्वाचनको मत परिणाम र निर्विरोध निर्वाचित नेताहरूको नाम घोषणा गरेका हुन् ।
अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । ओलीले १८३७ र उनका प्रतिस्पर्धी भीम रावलले २ सय २३ मत प्राप्त गरे ।
यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य १९७६, सुरेन्द्र पाण्डे १९२५, सुवास नेम्वाङ १८६५, विष्णुप्रसाद पौडेल १८५६, युवराज ज्ञवाली १८४२ र रामबहादुर थापा बादल १७६८ मत ल्याएर विजयी भए ।
उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल भने ७२५ मत ल्याएर पराजित भएका छन् ।
महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सचिवमा गोकर्ण विष्ट १९७४, योगेश भट्टराई १९६०, टोपबहादुर रायमाझी १८०४, छविलाल विश्वकर्मा १८०३, पद्मा अर्याल १७९९, लेखराज भट्ट १७०४ र रघुवीर महासेठ १५०० मत ल्याएर विजयी हुँदा ७ सय ८८ मत ल्याएका भीम आचार्य र ५ सय ५९ मत ल्याएका टंक कार्की पराजित भए ।