
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बाला चतुर्दशीका बेला पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थको विक्री वितरण नगर्न अनुरोध गरेको छ ।
प्रशासनले तीर्थयात्री भक्तजनलाई पशुपति क्षेत्रमा यस्ता पदार्थहरू बिक्री वितरण तथा सेवन नगर्न/नगराउन अनुरोध गरेको हो ।
सूचना विपरीत क्रियाकलाप गरेको पाइए कानून बमोजिम कारवाही हुने पनि प्रशासनले जनाएको छ ।
यसपालि बिहीवार बाला चतुर्दशी पर्व परेको छ । पशुपतिनाथ मन्दिर परिसरमा पितृको सम्झनामा रातभर जाग्राम बसेर बत्ती बाल्ने र भोलिपल्ट बिहान बागमती नदीमा बत्ती विसर्जन गर्ने गरिन्छ । पशुपति क्षेत्रका मठमन्दिर, देवालय, शिवालय, कैलाश चौर, मृगस्थली, मृगवाटिकाको भागलभुगल महादेवलगायतका स्थानमा सत्बीज छर्ने परम्परा छ ।