
प्रतिशतले नाप्दा यसपटक केपी शर्मा ओली नेकपा एमालेको इतिहासमा भएका सबै महाधिवेशनमध्ये सर्वाधिक धेरै मतान्तरले विजयी भएका छन् ।
मंगलबार सौराहामा भएको ‘निर्वाचन’मा ओलीले प्रतिद्वन्द्वी भीम रावललाई १ हजार ६ सय १४ मतान्तरले पराजित गरे । ओलीले १ हजार ८ सय ३७ मत प्राप्त गर्दा रावलले मात्र २ सय २३ मत प्राप्त गरे ।
मतान्तर जति धेरै भएपनि एमाले अध्यक्षमा ओलीको जीत प्राविधिक जस्तै हो । झण्डै-झण्डै ओलीको एकपक्षीय प्रतिस्पर्धा रहेको एमालेमा उम्मेदवार बनेर भीम रावलले उनलाई सर्वसम्मत हुन नदिएका मात्र हुन् ।
कांग्रेस नेता गगन थापाको शब्दमा चितवनको सौराहामा भएको महाधिवेशन नभई ‘ओलीवेशन’मा अन्य उम्मेदवार उनका अगाडि टिक्न सक्ने अवस्था थिएन ।
२०७१ सालमा भएको नवौं महाधिवेशनबाट नेतृत्वमा उदाएका ओलीले २०७२ सालमा नौ महिने सरकारको प्रधानमन्त्रीको रूपमा नाकाबन्दीको सामना गरेपछि राजनीतिक उचाइ उठाउने मौका पाएका थिए ।
२०७४ सालको आमनिर्वाचनमा वामपन्थी तालमेलमार्फत एमालेलाई पहिलो दल बनाएदेखि एमालेभित्र ओली अप्रतिस्पर्धी नेताको रूपमा उदाएका छन् ।
२०७५ सालमा माओवादीसँग एकता गरेर नेकपा गठनदेखि र नेकपा विभाजनपछि पनि पार्टीभित्र ओलीको एकछत्र रजाइँ कायमै छ ।
समकालीन माधव नेपाल, झलनाथ खनालले एमाले त्यागेर नेकपा एकीकृत समाजवादी गठन गरेदेखि एमालेभित्र ओलीलाई हाँक दिने संगठित शक्ति छैन ।
असार २७ गते १० बुँदे सहमति गरेर एमालेमै रहेका १० भाइको शक्ति छिन्नभिन्न भएको ।
भन्नका लागि त, महाधिवेशन उद्घाटनका लागि चितवन जानुभन्दा अघिल्लो दिन सम्पादकहरूसँगको कुराकानीमा ओलीले भीम रावलको उम्मेदवारीतर्फ संकेत गर्दै आफूविरुद्ध उम्मेदवारी दिनुलाई स्वागतयोग्य भनेका थिए ।
त्यो व्यवहार चितवनमा देखिएन । ओलीलाई सर्वसम्मत बनाउन चाहने कार्यकर्ताले सौराहामा भीम रावलविरुद्ध नारावाजी गरेर अराजनीतिक चरित्र देखाए ।
पार्टी विधानले प्यानल बनाएर चुनाव लड्न निषेध गरेका कारण भीम रावल, घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीहरूले छुट्टाछुट्टै उम्मेदवारी दिए । त्यो असंगठित शक्तिलाई भोट नहाल्न भनेर पर्चा नै वितरण भयो ।
प्रतिष्पर्धीलाई निषेध गर्ने घोषित नीति नभएपनि एमालेजस्तो लोकतान्त्रिक मूल्य मान्यतालाई अनुशरण गर्दै आएको पार्टीको महाधिवेशनमा त्यस्ता कुरा अपेक्षित थिएनन् ।

ओलीलाई 'कम्फरटेबल' टीम
महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा अोलीले आफूहरूको अधिवेशनलाई देशले हेरिरहेको भन्दै देशलाई दिशानिर्देश गर्नेगरी फर्किने बताएका थिए ।
उनले आफूहरू अन्य दलभन्दा फरक भएकाले सरदर (औसत)मात्र नभएको दाबी गरे ।
केन्द्रीय समितिमा महिला कोटामा उषाकिरण तिमिल्सिनालाई अपवाद मान्दा सबै पदमा ओलीले चुनेका पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
हुन त कम्युनिस्ट सिद्धान्तको कुरा गर्नेहरू दुई लाइन संघर्ष नभएको कम्युनिष्ट पार्टी जीवन्त हुँदैन भन्छन् । सौराहाबाट फर्केको एमालेमा अब दुई लाइन संघर्ष शायदै हुनेछ । ‘चिनियाँ मोडल’को कम्युनिष्ट पार्टी सञ्चालन गर्ने सोचाइमा रहेका ओली पार्टीभित्र आफ्नो आलोचना खासै रुचाउँदैनन् ।
पार्टीमा आफूविरोधी पन्छाउने र भजनमण्डली संरक्षण गर्नेगरी रापती नदीको किनारमा बसेर ओलीले मनमौजी सूची तयार पारे ।
सौराहामा ओलीको बसोबासको बन्दोबस्त रापती नदीको किनारमै सटेको पार्क सफारी रिसोर्टमा मिलाइएको थियो ।
ओलीको आकांक्षा बुझेका नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङले सूची बनाउन ओलीलाई सघाए ।
नेकपा विभाजन भएपछि आयोजित एक कार्यक्रममा ओलीले भनेका थिए–
'हिजो नेपालका पर्टीहरूमध्ये सबैभन्दा अराजक, अनुशासनहीन, गएगुज्रेको र गैताल पार्टी नै हाम्रो पार्टी बन्यो । पार्टी, पार्टी जस्तो थियो र ? बैठक, बैठक जस्तो थियो र ? यताबाट उठेर एउटा कराउँछ, उताबाट अर्को कराउँछ च्याउँच्याउँ र म्याउँम्याउँ गरेर ..., अहिले पार्टी त्यस्तो छैन । पार्टी भनेको यस्तो पो हुन्छ ।'
सौराहाबाट चुनिएको एमालेको ‘कम्फरटेबल’ टीमले पार्टीमा ओलीको रूचि र चाहना परिपूर्तिमा कुनै व्यवधान सिर्जना गर्ने छैन ।
पार्टीमा आफूविरोधी समूह निमिट्यान्न पार्ने योजनामा ओली सर्वाधिक सफल भएका छन्, जसले ओलीको घमण्ड र अहम् थप बढ्ने वातावरण तयार भएको छ ।
त्यसको छनक उनले बन्दसत्रको समापनको अवसरमा दिइसकेका छन् । निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष केपी ओलीलाई शपथ ग्रहण गराउन पोडियम नजिक बोलाएर शपथ ग्रहणको व्यहोरा उच्चारण मात्रै गर्न थालेका थिए, ओलीले सरासर सबै पढेर सकाए ।
साधारणतया, शपथ ग्रहणमा शपथ गराउने व्यक्तिले व्यहोरा पढ्ने र ग्रहण गर्ने व्यक्तिले दोहोर्याउने चलन हुन्छ । तर, ओलीले सुब्बाले पढेको शपथ दोहोर्याउन चाहेनन् र एकलौटी रूपमा पढेका सिध्याए ।
ओलीको बढेको कन्फिडेन्सको अर्को उदाहारण– महाधिवेशन सम्पन्न नहुँदै उनले केन्द्रीय कमिटीको दोस्रो बैठकको मिति तोकिदिए । बैठकको मिति केन्द्रीय कमिटीको बैठकमा छलफल भएर निर्णय गरेपछि तोकिन्छ ।
बैठकमा आफूले राखेको प्रस्ताव दायाँबायाँ नहुनेमा ढुक्क ओलीले बन्दसत्र समापनको सम्बोधनमै मंसिरको २५ र २६ गते केन्द्रीय कमिटीको बैठक बस्ने घोषणा गरिदिए ।
महाधिवेशन समापनपछि सौराहामै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले ओलीको घोषणा अनुमोदन गर्यो ।
एमालेका आगामी बैठकहरू कसरी सञ्चालन हुन्छन् भन्ने यो प्रारम्भिक संकेत पनि हो ।
पार्टीमा विधि र पद्धतिको कुरा गर्ने र फरक मत राख्ने भीम रावल, घनश्याम भुसालहरू अब एमालेको पदाधिकारीमा रहने छैनन् । अर्थात् ओलीले राखेको प्रस्तावमा पार्टीमा कसैले विरोध गर्ने छैनन् ।
एमालेको नयाँ विधानअनुसार सचिवालय सर्वोच्च निकायको रूपमा आएको छ, जहाँ पदाधिकारी मात्रै सदस्य हुन्छन् । त्यो पदाधिकारीको टीममा ओलीलाई प्रश्न गर्ने ल्याकत र आँट भएका कोही छैनन् ।

एमालेले प्रदर्शन गरेको क्षमता र खस्किएको साख
जे भएपनि देशको सबभन्दा ठूलो पार्टी नेकपा एमालेको महाधिवेशनको उद्घाटन समारोह भव्य थियो । जनसहभागिता आश्चर्यजनक थियो । नारायणी नदीको किनारमा मानव सागर नै उत्रिएको थियो ।
एमालेले उद्घाटन सत्रमा पाँच लाख मानिस उतार्ने भनेर गरेको घोषणा सफल भयो । यो एमालेको क्षमताको प्रदर्शन थियो ।
नारायणी नदी किनारमा भव्य क्षमता प्रदर्शन गरेर उचो भएको एमालेको साख रापतीको किनारमा पुगेर बन्दसत्र समापन गर्दा भने खस्किसकेको थियो ।
बन्दसत्रमा ओलीले एकाधिकार अभ्यास गरे । ओलीले बोलीमा कसैलाई पहिल्यै मन पराएर नबस्ने र निर्वाचनमा जसले बढी मत ल्याउँछ उसैलाई मन पराउँछु भन्थे ।
बन्दसत्रमा ओलीले जेजस्तो प्रयास गरे त्यो व्यवहारले ओलीको बोली झल्काउँदैनथ्यो । सहमतिको नाममा उनले आफ्नो एकाधिकार लाद्ने प्रयास गरेका थिए ।
विधानमा प्यानल बनाउन नपाउने व्यवस्था भएपनि बन्दसत्रको हलमा ओलीले सहमतिको प्रस्ताव भन्दै आफ्नो प्यानल घोषणा गरे र प्रतिनिधिलाई प्यानलमा दिइएको जिम्मेवारी बाहेक दायाँबायाँ नगर्न निर्देशन दिए ।
भीम रावल र घनश्याम भुसालले प्रक्रियामै जानुपर्ने बताएपछि ओली चुनावका लागि तयार भए । ओलीले बनाएको सूचीमा नाम नअटाएका अरू प्रतिनिधिले ओलीविरुद्ध विद्रोह गर्ने आँट गरेनन् ।
आन्तरिक लोकतन्त्रमा कांग्रेसभन्दा अघि रहेको दाबी गर्ने एमालेको लोकतान्त्रिक छविको चीरहरण बन्दसत्रको क्रममा देखियो, जसले एमालेको मार्ग दर्शक सिद्धान्त जनताको बहुदलीय जनवादकै साख खस्काएको छ ।
नेकपा एमालेको महाधिवेशन समापन हुँदै गर्दा प्राध्यापक डा. युवराज संग्रौलाले फेसबूकमा स्टाटस लेखेका छन्–
‘नेपालको वामपन्थी आन्दोलनमा धेरै ठूलो विचलन भएकै हो । समाजवादको पतनमा वामपन्थी राजनीति गर्ने बेइमानहरूको भूमिका एकदिन इतिहासमा लेखिने छ । तर, यो बेइमानीको दोष १० भाइलाई नै लाग्नेछ, किनभने सिद्धान्तविहीन सम्मानको खोजी र केहीचाहिँ फाइदामा लागेकै हुन् । अहिले जे भयो, त्यो पहिला नै स्थापित थियो ।’
पढ्नुहोस यो पनिः