०७ साउन २०८३, बिहीबार

सबै दलका महाधिवेशनले राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा बनाउनुपर्छ : देउवा

मंसिर १५, २०७८
सबै दलका महाधिवेशनले राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा बनाउनुपर्छ : देउवा
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै उनले यसै हप्ता नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको उल्लेख गर्दै आफ्नो दल नेपाली कांग्रेस पनि अर्को हप्ता १४औं महाधिवेशनका तयारीमा जुटेको बताए ।

सबै दलका महाधिवेशनले राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा बनाउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । 

उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय एकताको आवश्यकता रहेको औंल्याए । मुख्य राजनीतिक दलबीच अन्तरविरोध एवं विवादका माझ पनि साझा मुद्दामा एकता कायम हुनुपर्नेमा उनले जोड दिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनता र देशलाई राजनीतिको केन्द्रविन्दु बनाएर साझा विषयमा सबै दलबीच एकता कायम हुनुपर्ने बताए । राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका विषयमा मुख्य दलले एकता गरेर अघि बढ्न राप्रपाको महाधिवेशनले योगदान गर्ने विश्वास उनले व्यक्त गरे । 

राजनीतिक परिवर्तनको मूल कारण आन्तरिक शक्ति भएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री नेपालले यसमा कसैले भ्रम पालेको भए अन्त्य गर्न अनुरोध गरे ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थिरताका लागि मुख्य दलहरूका बीचमा साझा मुद्दा निर्माण गरिनुपर्नेमा जोड दिए । सबै दलले देशभन्दा ठूलो अरु हुन नसक्ने भावमा साझा मुद्दा निर्माणमा काम गर्नुपर्ने उनको विचार थियो ।

salt training

कमेन्ट गर्नुहोस्