
काठमाडौं, १२ असार– अमेरिकी सरकाले कतारको समर्थन गर्दै कूटनीतिक संकट समाप्त गर्नका लागि अरब देशहरुको मागलाई सम्बोधन गर्न कठिन भएको बताएको छ ।
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अरब देशले कतार समक्ष प्रस्तुत गरेका मागलाई पूरा गर्न कतारलाई कठिन हुने बताएका बीबीसीले उल्लेख गरेको छ ।
साउदी अरब, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारमाथि १० दिन भित्र इरानसँग सम्बन्ध कम गर्न र टर्कीको सैन्य अखडालाई बन्द गर्नुपर्ने माग अघि सारेका थिए ।
यी मागमा समाचार संस्था अल–जजिरालाई बन्द गर्नुपर्ने शर्त पनि समावेश छ जसलाई कतार सरकारले आर्थिक सहायता गर्ने गरेको छ ।

कतारका विदेशमन्त्रीले भने गत शनिबार अरब देशले कतारमाथि राखेका १३ बुँदे मागलाई सम्बोधन गर्न नसकिने स्पस्ट पारिसकेका छन् ।
अमेरिकी विदेशमन्त्री टिलरसनले अरब देशलाई सँगै बसेर चरमपन्थको हल निकाल्न र यसको विरोधमा आवश्यक कदम उठाउनका लागि आग्रह गरेका छन् ।
उनले यो प्रस्तावले कूटनीतिक संकटको बीचमा यी देशहरुबीच कुराकानीको बाटो खोल्ने दाबी गरेका छन् ।