कम्बोडियामा ७४ वर्षीया एक महिलाले गाईसँग विवाह गरेकी छन् ।
उत्तरपूर्वमा रहेको क्राटी प्रान्तमा बस्ने खिम हाङ नामक महिलाले गाईसँग विवाह गरेकी हुन् । गाईले आफूले चुम्बन गर्ने गरेकाले विवाह गरेको उनको भनाइ छ ।
आफूलाई भेट्न गाई घरको भर्याङ समेत चढ्ने गरेको महिलाले बताइन् ।
गाईको यस व्यवहारले दिवंगत पतिको याद दिलाएको खिमको भनाइ छ । पतिले गाईका रूपमा पुनर्जन्म लिएको उनी दाबी गर्छिन् ।
गाईसँग महिलाले बिहे गरेको भिडियो उपलब्ध छैन । तर गाउँलेहरूले उक्त विवाहमा सहभागी बनेको बताएका छन् ।
गाईमा पतिको आत्मा भएकाले आफूलाई प्रेम गर्ने गरेको खिम बताउँछिन् ।
खिमले गाईलाई निकै स्याहारसुसार गर्ने गरेकी छन् । गाईलाई प्रेमपूर्वक नुहाउने र सुत्नका लागि ओछ्यान समेत बिछ्याउने गरेको खिम बताउँछिन् । पतिले प्रयोग गर्ने सिरानी पनि उनले गाईलाई दिएकी छन् ।
गाईलाई पिता भन्न उनले आफ्ना बच्चाहरूलाई अराउने गरेकी छन् ।
खिमका पति तोल खुतको मृत्यु केही वर्षअघि भएको थियो । पतिको आत्मा गाईमा आएको खिमको दाबी छ ।