१२ असार २०८३, शुक्रबार

बुद्धका उपदेश पालनाले दीगो शान्ति कायम गर्न सकिन्छ : राष्ट्रपति भण्डारी

मंसिर १६, २०७८
बुद्धका उपदेश पालनाले दीगो शान्ति कायम गर्न सकिन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको सन्देशअनुसार सामूहिकता र मानवप्रेमको भावना जागृत गराउन सके मात्र समाजमा दीगो शान्ति कायम गर्न सकिने बताएकी छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं वार्षिकोत्सव तथा केन्द्रीय पुस्तकालय भवनको बिहीवार लुम्बिनीमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्धको ज्ञान र शिक्षाको उपयोगबाट नै विद्यमान तीव्र स्वार्थ र द्वन्द्व निवारण गर्दै दीगो शान्ति कायम गर्न सकिने बताइन् ।

राष्ट्रपति भण्डारीले मौलिक रूपमा विकास भएको बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालयदेखि उच्च तहसम्म समावेश गर्दै समयसापेक्ष बनाउन आग्रह गरिन् । 

दीगो संरक्षण र संवद्र्धनका लागि लुम्बिनी गुरुयोजनाको काम सम्पन्न गर्नुपर्ने भन्दै लुम्बिनी गुरुयोजना सम्पन्नपछि लुम्बिनी सांस्कृतिक शहरको रूपमा विकास हुने र मुलुककै अर्थतन्त्रमा टेवा पुग्ने भएकाले गुरुयोजना निर्माणमा भइरहेको ढिलाइको कारण खोजी गरी समाधान गर्न राष्ट्रपति भण्डारीले आग्रह गरिन् ।

बुद्धका कालजयी उपदेश र शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न नेपालकै सबै विश्वविद्यालयलाई राष्ट्रपतिको सुझाव छ । बुद्धको जीवनमा प्रकृति र प्रेम अभिन्न अंगको रूपमा जोडिएको भन्दै भण्डारीले मानवताको लागि बुद्धद्वारा प्रतिपादित दर्शन र ज्ञान र विचारले सम्पूर्ण जगतकै शान्तिका लागि लागि मार्गदर्शन गरेको बताइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुद्धदर्शन नेपालकै माटोमा उब्जिएको दर्शन भएकाले नेपालीहरू बुद्ध दर्शनमा जानकार हुनुपर्ने बताए । उनले बुद्धले प्राणी जगतमाथिकै दमन, शोषण र विभेदविरुद्ध ज्ञान बाँड्दै हिँडे पनि बुद्ध जन्मिएकै भूमिका कैयांै ठाउँहरूमा अझैपनि दमन, शोषण र विभेदमा मानिसहरू बाँच्न बाध्य भएका बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बौद्ध विश्वविद्यालय विश्वकै उत्कृष्ट बन्ने भन्दै त्यसका लागि प्रयत्न जारी रहीरहेको बताए । सहकूलपति समेत रहेका पौडेलले विश्वविद्यालय स्थापनाको मूलभूत उद्देश्य तथा विश्वविद्यालयको ऐनको मर्म बमोजिम बौद्ध परम्परासँग सामञ्जस्य हुनुपर्ने बताए ।

पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनीको गुरुयोजनाका लागि बजेट व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे । आफू अर्थमन्त्री रहेकै वखत यसअघिको सरकारले ७ अर्ब ३३ करोड बजेट विनियोजन गरेको उल्लेख गर्दै पौडेलले लुम्बिनी गुरुयोजनाको बाँकी रहेको कामका लागि आवश्यक सबै बजेट उपलब्ध गराउन आग्रह गरे ।

संसारका गुरुयोजनामध्ये लुम्बिनी गुरुयोजना सबैभन्दा उत्कृष्ट भएको उल्लेख गर्दै उनले गुरुयोजना सम्पन्न हुँदा लुम्बिनीको मात्र नभई मुलुकको समृद्धिका लागि साधक बन्ने बताए ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगकका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदी, बौद्ध विश्वविद्यालयका उपकूलपति प्रा.डा. हृदयरत्न बज्राचार्य, रजिस्ट्रार डा. तिलकराम आचार्य, अनुसन्धान निर्देशक प्रा.डा गितु गिरी, निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्ले लगायतले बोलेका थिए ।

राष्ट्रपति भण्डारीले विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको उद्घाटन गरिन् । पुस्तकालय करीव ९ करोड २० लाख रुपैयाँ लागतमा निर्माण भएको हो । सो अवसरमा राष्ट्रपतिले बौद्ध ग्रन्थहरू बुद्धवंश, इतिबुत्तक, अशोक वदान, बुद्ध र ब्रम्ह, सिद्धार्थ चरित्रम्को अनुवाद पुस्तक लोकार्पण गरिन् ।

२०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयले १६ वर्ष पूरा गरेको छ । विश्वविद्यालयमा अहिले करीब १ हजार २०० भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्