‘मन परेको फूल, सुके पनि रसिलो’
चलचित्र ‘पशुपतिप्रसाद’ को यो संवाद याद नगर्ने विरलै होलान् । दीपेन्द्र के. खनाल निर्देशित उक्त चलचित्र धेरैले मन परेको चलचित्रमध्येको एक हो । चलचित्र हिट हुनुको कारण यसमा समावेश गरिएका सरल र स्वादिला संवाद पनि कारण थिए ।
रेडियो नाटक, थिएटर हुँदै सिनेमा प्रवेश गरेका पशुपतिप्रसाद उर्फ खगेन्द्र लामिछाने आजभोलि चलचित्र ‘धनपति’ को प्रचारमा व्यस्त छन् । यही असार २३ गते प्रदर्शन हुन लागेको चलचित्र धनपतिका नायक खगेन्द्र चलचित्र धनपति पशुपतिप्रसाद भन्दा पनि स्तरीय बनेको जिकिर गर्छन् ।
लेखक, निर्देशक तथा अभिनेता खगेन्द्रले आफ्नो तीनै कामलाई एकसाथ अगाडि बढाइरहेका छन् । तुलनात्मक रुपमा निर्देशन र अभिनय भन्दा लेखन कार्य केही सहज भएको खगेन्द्र बताउँछन् । उनी भन्छन्, ‘काम त सबै गाह्रो नै हो तर लेखनको लामो अनुभवले लेखन कार्य अलिक सहज लाग्छ ।’
उनी नाटक क्षेत्रमा लागेको लगभग अठार वर्ष भयो । यस अवधिमा उनले जम्मा ६ नाटकमा अभिनय गरेका छन् । लेखनको शुरुवात नाटकबाटै भएपनि रेडियो नाटकमा समेत खारिएका खगेन्द्रको थिएटर लेखनको प्रभाव उनले लेखेका सिनेमाको कथामा पनि देखिन्छ । ‘मलाई कतिले फिल्ममा नाटकको प्रभाव छ भन्नुहुन्छ, शायद दर्शकलाई यही कुरा मन परेको हुनसक्छ ।’, खगेन्द्र थप्छन्, ‘आफैले लेखेको स्किृप्टमा काम गर्न सजिलो पनि छ ।’

प्राय आफ्नै कथामा अभिनय गर्ने खगेन्द्र अरुको कथामा काम गर्न डर लाग्ने बताउँछन् । डर किन त? भन्ने प्रश्नमा थोरै हाँस्दै भन्छन्, ‘अर्काले लेखेको कथामा मैले राम्रो काम देखाउन सक्दिन कि भन्ने लाग्छ, आफैले कथा लेख्ने बेलामा नै पूरै पात्रको मनोविज्ञान पढ्न पाएको हुन्छु ।’
यो वर्ष भने अरुकै कथामा उनी दुई चलचित्रमा अभिनय गर्दैछन् । प्रस्ताव आएका कतिपय चलचित्रभन्दा यी चलचित्र भिन्न लागेकाले आफूले अभिनय गर्न लागेको खगेन्द्र सुनाउँछन् । ‘फिल्म राम्रो बन्न कथा तथा पटकथाको त्यत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ, दुई÷तीन वर्षसम्म पनि एउटै प्रोजेक्टमा मेहनत गर्छु, सकेसम्म राम्रो गर्ने प्रयास गर्छु ।’ उनी थप्छन्, ‘हामीले धेरै नै मेहनत गरेर धनपति बनाएका छौं । सिनेमा राम्रो बनेकाले धनपतिले अनुहार हँसिलो बनाएको छ ।’
चलचित्र ‘धनपति’ को छायांकन गर्दा आफूले गरेका अन्य सिनेमा भन्दा बढी दुःख भएको खगेन्द्र बताउँछन् । ‘धनपतिमा नेपाल बन्दका दृश्यहरु खिच्नुपर्ने थियो, तोडफोड गरेका दृश्य हामीले छायांकन गर्नुपर्ने थियो ।’ काठमाडौं र पर्सामा छायांकन गर्दा गाह्रो भएपनि सबैको सहयोग पाएको बताउँदै उनी थप्छन्, ‘शूटिङमा प्रहरीले मात्र होइन, नेपाली दाजुभाइहरुको परेको बेलामा सहयोग गर्ने बानीले पनि धेरै राहत मिल्यो ।’
नाटकका दर्शकले भने खगेन्द्रलाई लामो समयदेखि सिनेमामा मात्र हेर्न पाएका छन् । खगेन्द्र भने आफूले फिल्ममा आउनुभन्दा पहिले पनि ‘ग्याप’ राखेर नै नाटकमा अभिनय गर्ने गरेको बताउँछन् । ‘नाटकमा अभिनय गर्नेभन्दा पनि मैले निर्देशन गर्थें, अहिले त नाटकका लागि समय दिन भ्याइएको छैन ।’, बरु धनपतिको भूमिकाबारे खुलाउँदै उनी थप्छन्, ‘मलाई दर्शकले मेरो नामभन्दा पनि पात्रका माध्यमबाट चिन्नुहुन्छ, अब मलाई धनपतिका रुपमा चिन्नुहुनेछ ।’
पशुपतिप्रसादका निर्देशक दीपेन्द्र के. खनालसँग दोहोरिएर काम गर्दा अरुसँग काम नगरेको भन्ने आरोप पनि लाग्ने गर्छ खगेन्द्रलाई । तर, उनी भन्छन्, ‘खनाल जीसँग मेरो ट्युनिङ मिल्छ, यसको अर्थ अरुसँग नमिल्ने भन्ने होइन, हामी सबै साथी हौं ।’ उनी स्पष्ट पार्छन्, ‘अरु निर्देशकसँग पनि काम गरेको छु, यो वर्ष गर्दैछु ।’
चलचित्र पशुपतिप्रसाद मात्र होइन, उनी आफ्ना ९५ प्रतिशत कथा वियोगान्त भएको स्वीकार्छन् । नाटक तथा सिनेमामा देखिएको यो समानतालाई उनले संयोगका रुपमा हेर्छन् । ‘मैले आफ्नै कामको मूल्याङ्कन गर्दा पनि धेरै वियोगान्त रहेछन् ।’ उनी थप्छन्, ‘भोलि शायद फरक आउला, तर वियोगान्त कथाले पात्रलाई जिवित राखिरहन्छ जस्तो लाग्छ मलाई ।’
खगेन्द्र राम्रो सिनेमा बनायो भने सिनेमा हेर्न दर्शकलाई आग्रह गरिरहन नपर्ने तर्क राख्छन् । ‘हामी त फिल्मको रिलिज मिति बताइदिने हो, सिनेमा राम्रो बनाउने हो, दर्शकले नै विज्ञापन गर्नुहुन्छ ।’ उनी थप्छन्, ‘इमान्दार भएर सिनेमा बनाउने हो, कहिलेकाहीं बिग्रन पनि सक्छ ।’