
सुदूरपश्चिममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षभित्रैका २ गुटबीच रस्साकस्सी बढेको छ ।
प्रदेश समितिको नेतृत्वका लागि देउवा पक्षभित्रैका रमेश लेखक र एनपी साउद पक्षबीच जुँगाको लडाइ चलिरहेको हो ।
ती २ उपगुटभित्र सहमतिको प्रयास असफल भएपछि तोकिएको निर्वाचन तालिका समेत हेरफेर गरिएको छ ।
शुक्रबार बिहान ८ बजेदेखि तोकिएको मनोनयन दर्ताको समय तालिका दिउँसो २ बजेदेखि निर्धारण गरिएको छ ।
तालिका अनुसार २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता, ४ देखि ५ बजेसम्म दाबी विरोध, ५ बजेर २० मिनेटसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन, साढे ५ देखि साढे ६ बजेसम्म उम्मेदवारी फिर्ता र साढे ७ मा अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।
कञ्चनपुर र बैतडीमा दुवै नेताबीच पालिका अधिवेशनबाटै तीव्र ध्रुवीकरण भएकोमा प्रदेश अधिवेशनसम्म आइपुग्दा झनै चुलिएको हो ।
देउवा पक्षका प्रदेश सभापतिमा आकांक्षीहरू धेरै भएपछि डोटीका नेता वीरबहादुर बलायरको पक्षमा सर्वसम्मतिको प्रयास भएपनि त्यो टुंगो लाग्न नसकेको नेताहरूले बताएका छन् ।
नेपाली कांग्रेसका एक नेताले भने, ‘केन्द्रीय सभापतिको चाहनाअनुसार नेता वीरबहादुर बलायरलाई प्रदेश सभापति बनाउन नेता दिलेन्द्रप्रसाद बडू, रमेश लेखक र एनपी साउद तयार छन् । उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा आफूनिकटका नेता ल्याउन लेखक र साउदले चाहेपछि सर्वसम्मत पदाधिकारी चयन गर्न समस्या भएको छ ।’
तर सहमतिको प्रयास जारी रहेको प्रचार प्रसार समिति संयोजक नृप सुनारले जानकारी दिए ।
कांग्रेस सुदूरपश्चिमका नेताहरू बडू, लेखक, साउद, बलायर, बद्री पाण्डेलगायतका नेताहरू छलफलमा रहेका छन् । प्रदेशभरका ९ सय ७२ प्रतिनिधि धनगढीमा छन् ।
प्रदेश कार्यसमितिमा संस्थापन पक्षले ५५ प्रतिशत र इतर पक्षलाई ४५ प्रतिशत दिन सभापति देउवाले निर्देशन दिएको बताइएको छ । ‘मेरो प्रदेश हो, सर्वसम्मत गर्नुस् । उहाँहरूलाई ४५ प्रतिशत दिँदा फरक पर्दैन,’ देउवाले आफू निकट नेताहरूलाई भनेका छन् ।
लेखक र साउदबीच पदाधिकारीमध्ये महामन्त्री कसलाई बनाउने भन्नेमा तीव्र खिचातानी भइरहेको हो ।
लेखकले नरनारायण शाह ‘मनु’ लाई महामन्त्री बनाउन खोजेका छन् भने साउदले शाहलाई नरुचाएको कारण सहमति हुन सकेको छैन । तर शाह भने सभापतिमै चुनाव लड्ने बताइरहेका छन् ।
प्रदेशमा कैलाली जिल्ला सभापति नरनारायण शाह, पूर्वपरराष्ट्र राज्यमन्त्री तथा बझाङका कांग्रेस नेता अर्जुनजंगबहादुर सिंह, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा डोटीबाट विजयी महाधिवेशन प्रतिनिधि पुष्प शाही, पूर्वसञ्चार राज्यमन्त्री तथा अछामका कांग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा र कैलालीका हिमबहादुर रावलले प्रदेश सभापतिमा दाबेदारी पेश गरेका छन् ।
सभापतिका दाबेदार सबै संस्थापन पक्षका हुन् । सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि कांग्रेसले कानूनमन्त्री बडूलाई संयोजकको जिम्मेवारी दिएर खटाएको छ ।
देउवा पक्षभित्रै सहमति जुट्न नसक्दा सुदूरपश्चिममा कमजोर मानिएको संस्थापनइतर समूहले अर्को साझा उम्मेदवारका रूपमा अघि सारेको छ । संस्थापन इतर समुहले कैलालीका नारायण दत्त मिश्रलाई साझा उम्मेदवारका रूपमा अघि सारेको हो । मिश्र अहिले आफ्नो टीम बनाउन सक्रिय भएका छन् ।
सुदूरपश्चिमको बैतडी, दार्चुला र बाजुरामा मात्रै संस्थापन इतर समुह हावी छ । अन्य ६ जिल्लामा देउवा समूह बलियो छ ।
कांग्रेस प्रदेश अधिवेशनले १ जना सभापति, २ जना उप–सभापति, २ जना महामन्त्री, १ महिलासहित ३ जना महामन्त्री चयन गर्नेछ ।
यसैगरी सदस्य खुलातर्फ तीन महिलासहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट १ महिलासहित १८ जना, खसआर्य कोटाबाट ६ महिला, ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट १ जना, दलित कोटाबाट १ महिलासहित ३ जना, मधेसी कोटाबाट १ जना, थारु कोटाबाट १ महिला र २ खुला गरी ३ जना, मुस्लिमबाट १, अपाङ्गता भएका १ जनासहित ५९ सदस्यीय प्रदेश समिति चयन गर्नेछ ।