
तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौं तनहुँ महोत्सव हुने भएको छ ।
कोरोनाले २ वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो ।
व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
संघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिएको छ । आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए ।
५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करीब ६ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा कूल आम्दानी ८० लाख र नाफा १५ लाख ३५ हजार रुपैयाँ हुने अनुमान छ ।
महोत्सवमा मादीसेती नदीमा जलविहारको व्यवस्था मिलाइने भएको छ । सेती र मादीको संगमस्थल दमौलीमा जलविहारको प्रचुर सम्भावना भए पनि जलविहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीण बस्तीको प्रवद्र्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ ।
महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँ लगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।