
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकामा छात्रवृत्ति र सामग्री वितरण गरिएको छ ।
सगोल कास्कीले दिवसकै अवसर पारेर अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
अपाङ्गता भएका १६ छात्रा र १४ छात्र गरी ३० जनाका लागि झोला, कापी, कलम, विद्यालय पोशाक र मास्क सहयोग प्रदान गरिएको सगोल कास्कीका अधिकृत विमला केसीले जानकारी दिए । छात्रवृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाइका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँका दरले कूल १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
गाउँपालिकाभित्र अपाङ्गता भएका १५ नागरिकका लागि आवश्यकता अनुसारका सामग्री प्रदान गरिएको छ । अपाङ्गताको प्रकृतिअनुसार ट्वाइलेट चियर, सेतोछडी, लठ्ठी र वैसाखी प्रदान गरिएको उनले बताए । अपाङ्गतता भएका विद्यार्थी र व्यक्तिलाई सहयोगी सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले अपाङ्गता भएका व्यक्तिलाई आर्थिकरूपमा सवल र आत्मनिर्भर बनाउन गाउँपालिकाले गरिरहेको प्रयासमा विभिन्न संघसंस्थाको पनि सहयोग रहँदै आएको बताए ।
गाउँपालिकामै चिकित्सक खटाएर स्वास्थ्य परीक्षण गरी घरदैलोमै अपाङ्गतता परिचयपत्र वितरण गरिएको बताउँदै उनले आगामी दिनमा पनि समाजका अपाङ्गता, असक्त, विपन्न वर्गको हितका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘बालबालिका विद्यालय पुगेपछि अपाङ्गतामैत्री वातावरण र संरचना अभाव देखिएका छन्, त्यस्ता संरचना निर्माणमा हामीले ध्यान दिइरहेका छौं ।’
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको आयआर्जनका लागि बाख्रापालन, मौरीपालन, कुखुरापालन लगायत बेलाबेलामा विभिन्न सीपमूलक तालिमसमेत आयोजना गर्दै आएको उनको भनाइ छ । गाउँपालिकाका उपप्रमुख लालसुवा गुरुङले अपाङ्गता भएका व्यक्तिको लागि छुट्टै सहकारी स्थापना गरी आर्थिक उन्नति र विकासमा ध्यान दिइएको बताउँदै आर्थिक अवस्था सुधार भएमात्र अपाङ्गता भएका व्यक्ति सक्षम हुनसक्ने विश्वास व्यक्त गरे ।
रुपामा अपाङ्गताको क्षेत्रमा सगोल र परिलक्षित तथा बालबालिकाको क्षेत्रमा गोनेसाले गाउँपालिकासँग साझेदारी गरेर कार्यक्रम गरिरहेको बताउँदै उपाध्यक्ष गुरुङले गाउँपालिकामा गठित समूह र सञ्जाल एवं सहयोगी संस्थाका कारण अपाङ्गताको क्षेत्रमा काम गर्न सहज भएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले सार्वजनिकस्थलको भौतिक पूर्वाधार निर्माणका क्रममा अपाङ्गमैत्री संरचना निर्माणमा गाउँपालिकाले जोड दिँदै आएको धारणा राखे ।